धरानः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिने भनिए पनि सत्तारुढ र विपक्षी दलले नै आजको बैठक स्थगित गर्न माग गरेका छन् ।
सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सभामुख प्रदीप कुमार भण्डारीलाई बैठक स्थगित गर्न निवेदन दिएका हुन् । तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक रोक्न अस्वीकार गरेका छन्। आफूहरुको अधिवेशन चलिरहेकोले सबै प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने भन्दै एमालेले बैठक लम्बयाउन निवेदन दिएको हो ।
यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पनि बैठक सार्न निवेदन दिएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पूर्वमा भ्रमणका क्रममा आउन लागेकाले आजको बैठक स्थगित गर्न उनले निवेदन दिएका हुन् ।
कांग्रेसले मिति नै तोकेर बैठक स्थगित गर्न माग गरेको छ । कार्कीले निवेदनमा कात्तिक १५ गतेसम्मलाई बैठक स्थगित गर्न माग गरेको हो ।
नेकपा एमाले विभाजन भएपछि भीम आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरिसकेका छन् । एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुन् ।
तर, प्रदेशमा सरकार गठनको सवालमा कांग्रेसभित्र मन्त्रालयको विषयलाई लिएर चरम असन्तुष्टि रहेको र केही सांसद्ले फ्लोर क्रस समेत गर्न सक्ने अवस्था रहेकाले बैठक स्थगित गर्न माग गरिएको हो ।
यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भने कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्नुपर्ने बताएका छन् ।