धरानः नेकपा एमाले धरानमा देखिएको विवाद छताछुल्ल भएको छ । छिन्नभिन्न भएर दुई समूहले भिन्दाभिन्दै स्थानमा कार्यक्रम समेत गरेका छन् ।
दुवै समूहले आफूहरु नै वैधानिक भएको दावी पर्दै कार्यकर्तालाई भ्रममा समेत पारेका छन् । संस्थापन पक्षले धरान–१० स्थित सैनिक भवनमा नगर अधिवेशन गरेको छ भने जेठ २ अघिको कमिटी अर्थात् नारायण सुवेदी समूहले धरान–१५ स्थित होटल इजी राइडरमा कार्यक्रम आयोजना गरेको छ ।
धरानमा केपी ओली समूहभन्दा माधव नेपाल समूह यसअघि पनि दर्बिलो नै थियो । नगर कमिटीमा पनि नेपाल समूहकै हावी थियो । नेपालले एमाले छोडेर अर्को पार्टी निर्माण गरेपछि अहिले कार्यकर्ता पनि छिन्नभिन्न बनेका छन् । नेपाल समूहमा देखिने कार्यकर्ता, केपी ओली समूह अर्थात् संस्थापन इतरतिर देखिएका थिए भने संस्थापन इतरका केही कार्यकर्ता जेठ २ अघि फर्किने कमिटीतिर देखिएका थिए । दुवै कार्यक्रममा उत्तिकै ‘मास’ मा नेता कार्यकर्ता उपस्थित भएको देखियो । दुवै समूहले आफूहरुकै समूहमा कार्यकर्ता बढी आएको भन्दै कानेखुशी समेत गरेको पाइयो ।
संस्थापन पक्षमा पुराना नेता मुरारी सुवेदी, मोतीराज सुनुवार, विजय राई, कुन्ता शर्मा, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी)लगायतको उपस्थिति थियो भने उता सांसद् जयकुमार राई, सांसद सावित्री श्रेष्ठ, यसअघि मेयरका उम्मेद्वार प्रकाश राई, सुनसरीका नेता धर्म निरौला, पदम इस्वो, सूर्य पन्धाकलगायत अन्य नेताहरुको समेत बाक्लो उपस्थिति थियो । संस्थापन पक्षमा कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिन्थ्यो भने अर्कोतर्फ नेताहरुको बाक्लो उपस्थिति थियो । दुवैतर्फ धरानका निर्वाचित वडाध्यक्षहरु समेत उपस्थित थिए । संस्थापन पक्षभन्दा अर्कोतिर नै वडाध्यक्षहरु बढी उपस्थित भएको पाइयो ।
कार्यक्रममा बोल्दै संस्थापन पक्षकी उपमेयर भण्डारीले नेपालले पार्टी छोडेर गएपछि नेता, कार्यकर्ताको विचल्ली भएको बताइन् । उता, नेता नारायण सुवेदीले आफूहरु आधिकारिक रहेकोले नआत्तिन नेता–कार्यकर्तालाई आग्रह गरे ।
धरानमा १० बुँदे सहमतिबमोजिम पार्टी संरचनालाई २०७५ जेठ २ मा फर्काउने, नफर्काउने भन्नेबारेमा विवाद देखिएपछि यस्तो भएको हो । धरान उपमहानगरका ६ वटा वडामा समानान्तर कमिटी बनाइएको छ । सबैले आफू नै वैधानिक भएको दाबी गरिरहेका छन् । वडा अधिवेशनमा पनि १, ५, ८, १०, ११, १५ र १७ नम्बर वडामा दुवै पक्षले अलगअलग कमिटी गठन गरेका छन् ।
यसअघि विवाद मिलाउन दुवै समूहका नेताहरुको दौडधुपले पनि काम गरेन । वार्तामा सहमति जुट्न सकेन । वार्तामा सहमति हुन नसकेपछि दुवैले दुईतिर अधिवेशन आयोजना गरेका हुन् । मिलेर एउटै अधिवेशन नभएको भन्दै नेता कार्यकर्ता नै आक्रोशित देखिएका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज


































