Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा छानविन

हाम्रो कोशी आवाज
कार्तिक ९ २०७८, मंगलबार
धरानको बीपी प्रतिष्ठानमा छानविन

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारी हटाउन सरकारले तयारी थालेको छ ।
विभिन्न विवाद र आरोपमा मुछिएका वीपी प्रतिष्ठानका पदाधिकारीहरुलाई कारबाही गर्न गठित स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले मंगलबारदेखि छानबिन शुरु गरेको हो ।
स्वास्थ्यमन्त्री खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका प्रवक्ता डा.रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका मेयर तिलक राई छन् । उच्चस्तरीय छानविन समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक डाक्टर गौरीशंकर शाहलाई छु्ट्टाछुट्टै भेटेर ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
प्रतिष्ठानका पदाधिकारी हटाउनका लागि टोलीले आन्दोलनरत चिकित्सक, कर्मचारी, धरानका राजनीतिक दल, नागरिक दबाब सञ्जाल धरानका प्रतिनिधिहरुलाई भेटेर छलफल समेत गरेको छ । उच्चस्तरीय छानविन समितिको टोलीले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारीलाई हटाउने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
एक चौथाई सिनेट सदस्यले हस्ताक्षर गरेर पदाधिकारीहरुले जिम्मेवारी पूरा नगरेको भन्दै लिखित निवेदन दिएपछि उनीहरुलाई पदबाट हटाउन सहकुलपतिको संयोजकत्वमा २ जना सिनेट सदस्य रहने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्ने र समितिको प्रतिवेदन सिनेट बैठकबाट अनुमोदन भएपछि हटाउन सक्ने कानुनी व्यवस्था छ । यसअघि नै प्रतिष्ठानका रजिष्ट्रार पदबाट प्रा.डा.मोहनचन्द्र रेग्मीले राजिनामा दिइसकेका छन् । उच्चस्तरीय छानविन समितिले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष २१ दिनभित्र प्रतिवेदन बुझाउने छ ।
छानविनको पाटोको हकमा प्रगति भएको बताउँदै स्वास्थ्यमन्त्री खतिवडाले कुलपतिले कानुनी रुपमा नै आयोग गठन गरेर यसको बैधानिक ढंगबाट कुनैबेला अनौपचारिक, कुनैबेला प्रतिवेदन दिन पठाएको बताए । । स्वास्थ्यमन्त्री खतिवडाले प्रतिष्ठानमा भएको सबै बेथिति हटाएर प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । यो भन्दा अर्को उच्चस्तरीय छानविन समिति अब नबन्ने जनाउँदै स्वास्थ्यमन्त्री खतिवडाले यही समितिले टुङ्गोमा पुरयाउने बताए ।
धरान उपमहानगरपालिकामा राजनीतिक दलका प्रतिनिधि, नागरिक दबाब सञ्जाल धरानका प्रतिनिधिहरुसँग भएको छलफलमा नेपाली कांग्रेस धरानका उपसभापति एवं वडा नं. १८ वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) ले प्रतिष्ठानका प्रदाधिकारीहरुले तलदेखि माथिसम्म भ्रष्टाचार गरेको बताए । उनले स्वास्थ्यमन्त्री समक्ष यस विषयलाई गम्भिर रुपमा लिएर प्रतिष्ठानलाई वेथितिमुक्त गर्न आग्रह गरे ।

प्रकाशित मिति: कार्तिक ९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend