Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पैसा तिर्न नसक्दा आमाछोरा बन्धक

हाम्रो कोशी आवाज
कार्तिक १२ २०७८, शुक्रबार
पैसा तिर्न नसक्दा आमाछोरा बन्धक

धरानः अस्पतालको उपचार खर्च तिर्न नसक्दा १५ दिनदेखि बिराटनगरको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आमा छोरा बन्दक बनेका छन् ।
मोरङको विराटनगर ११, महेन्द्रचौक स्थित उक्त अस्पतालले २ लाख ४० हजार ६ सय ८५ रुपैयामा धनकुटाकी अस्मिता बराइली र उनका छोरा लक्ष्मण लिम्बूलाई बन्धक बनाएको हो । आफ्नो छोरा र श्रीमतीलाई अस्पतालबाट निकाली सहयोग गरिदिन गणेश लिम्बूले सबैलाई अनुरोध गरेका छन् ।
निमोनिया भएपछि अस्पताल भर्ना गरिएको १ महिनाको बच्चा लिम्बूलाई असोज १९ गतेदेखि ३१ गतेसम्म म्याक्स हस्पिटलमा उपचार गराइएको प्रबन्धक निर्देशक हेमनारायण मेहताले जानकारी दिएका छन् । उपचार पश्चात बच्चा पूर्णरुपमा स्वस्थ भएपनि हस्पिटलमा तिर्नुपर्ने रकम बुझाउन नसकेका कारण बच्चा र आमा दुवैलाई अस्पतालमा राखेको निर्देशक मेहताले पुष्टि गरेका छन् ।
म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर विराटनगरका प्रबन्धक निर्देशक मेहताले भने, ‘शुरुमा बच्चाको उपचारका लागि ध्यान दियौं, बच्चा निको भयो । त्यसपछि डिस्चार्ज दिने बेलामा पैसा बुझाउनुभन्दा बिरामीको आफन्तले समय माग गर्नुभयो, अहिले पैसा जुटाउन नसक्ने र आर्थिक स्रोत नभएको भन्दै निवेदन परेको छ । हामीले निशुल्क उपचार गर्न सक्ने अवस्था छैन, केही प्रतिशत रकम छुट गर्न सकिन्छ तर पैसा नबुझाउन्जेल आमाछोरा दुवैलाई हस्पिटलबाट बाहिर जान दिनेछैनौं ।’
अस्पतालबाट श्रीमती र छोरालाई बाहिर निस्कन नदिई बन्दक बनाएपछि २८ वर्षका गणेश लिम्बू यतिबेला निकै चिन्तामा परेका छन् । तेह्रथुम जिल्ला सुङ्नाम गाविस वडा नं. ७ लसुने स्थायी घर भई धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं. ७ जिरोप्वाइन्टस्थित चन्द्रबहादुर श्रेष्ठको घरमा कोठाभाडा लिई विगत १ वर्षदेखि बसोबास गर्दै आएका लिम्बूको सानैमा बुबाआमा बितेपछि टुहुरो बनेका थिए ।

आफन्तको छत्रछायामा हुर्केका गणेशले ३ वर्षअघि धनकुटाकी अस्मिता बराइलीसँग प्रेम विवाह गरे । गत १ महिनाअघि जुम्ल्याहा छोरा जन्माएकी अस्मिताको एउटा बच्चा जन्मेको केही दिनमा मरयो । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएर धनकुटा फर्केको केहीदिनमा बचेको बच्चालाई निमोनिया भएको थियो । अहिले सो बच्चा र आमा दुवै म्याक्स हस्पिटलमा बन्दक हुँदा लिम्बूले १५ महिनाको छोरासँगै च्यापेर हिँड्ने गरेका छन् ।
आर्थिक सहयोगको अपेक्षा गर्दै गणेशले भने, ‘मेरो १ महिनाको छोरा लक्ष्मण लिम्बूलाई जिल्ला अस्पताल धनकुटाले निमोनिया भएको र सुविधा सम्पन्न अन्यन्त्र हस्पिटलमा लगि उपचार गर्नु भनी अनुमति दिएपछि एम्बुलेन्स चालक गणेश क्षेत्रीको सहयोगमा यस हस्पिटलमा भर्ना गराएका थियौं । हस्पिटल भर्ना गराउ“दा म स“ग जम्मा ५ हजार रकम थियो, सो रकम आफैस“ग राख्नु र पछि कति बिल निस्कन्छ सो तिर्नु भनी उपचार धमाधम भयो । हस्पिटलको तर्फबाट भएको उक्त सहयोगप्रति म आभारी छु । तर, बच्चा निको भएपछि हस्पिटलमा मैले बुझाउनु पर्ने रकम २ लाख ४० हजार भयो भन्ने सुनेपछि म अत्तालिए“ किनकी यति धेरै रकम मेरो क्षमता भन्दा ज्यादै नै बढि हुन आएको कारण मैले हस्पिटलमा के गर्ने भनि सरसल्लाह गर्दा १ लाख रकम जसरी पनि जम्मा गर्नु त्यसपछि मात्र बच्चा र आमालाई लानु भनि त्यस हस्पिटलको तर्फबाट भने पछि मैले उक्त रकम जुटाउन सबै उपाय लगाई चिनजान, इष्टमित्रसँग ऋण, सापट, चन्दा आदिका लागि चौतर्फी घुम्दा समेत सो रकम जम्मा गर्न नसकेको कारण म अत्यन्तै पीडामा परेको छु ।’
उनले भने, ‘मेरो श्रीमती अस्मिता र छोरा लक्ष्मण यही हस्पिटलमा बसिरहेका छन् । म सँग १६ महिनाको अर्को छोरा साहिल लिम्बूको समेत रेखदेख गर्नुपर्ने दायित्व छ । श्रीमतीले दुवै नानीलाई रेखदेख गरेमा म दैनिक ज्यालादारीमा लेबर काम गर्थे र दैनिक हाजिरा ७०० कमाउाथे तर अहिले १६ महिनाको बच्चा समेत हेरेर बस्नुपर्ने भएकोले काम गर्न समेत पाएको छैन । भएको ५ हजार रकम समेत हस्पिटलमा ओहोरदोहोर गर्दा गर्दै सकिसकेको छ र अहिले म बेखर्ची भई अलपत्र परेको छु ।’
सहारा माग्दै धरान आइपुगेका गणेशको दुःख देखेर धरान–११ का खेम धमला, राजन लामिछाने सहित पीडितलाई लिएर अस्पताल प्रशासनमा कात्तिक ११ गते पुगेका थिए । अस्पताल प्रशासनसँगको छलफलमा बिना पैसा छोड्न नमिल्ने, जबसम्म अस्पतालको बिल तिर्न सक्दैनन् तबसम्म नछोड्ने प्रतिक्रिया दिई अस्पतालले सम्बन्धित निकायलाई जानकारी गराउने भन्दै पत्र काटेर आमा छोरालाई बन्धक बनाएको पुष्टि गरेको छ । बिरामी र अस्पतालको अवस्था हेरेपछि धरानका राजन लामिछानेले भने, ‘गरिबी, सोझोपन र अनपढ भएका कारण आमाछोरा दुवै बन्धक बने, उनीहरुको आर्थिक स्रोत केही नभएकोले आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता देखियो । मैले सक्ने सहयोग गर्छु, अन्य महानुभावहरुले पनि यथासक्य सहयोग गरौं । गरिबलाई गरेको सहयोगले सबैलाई पुण्य हुन्छ, आमाछोराको उद्दार हुनुपर्छ ।’

प्रकाशित मिति: कार्तिक १२ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend