संखुवासभाः संखुवासभामा खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । चिचिला गाउँपालिका-२ दिदिङमा खुकुरी प्रहारबाट दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले सामान्य विवादमा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएको जानकारी दिए ।
खुकुरी प्रहारबाट गुरुङको टाउको, आँखा र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
