सुनसरीः प्रदेश नं. १ को प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेकोे कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको संख्या बढ्दै गएको छ ।
यहाँका पाँचवटा माउ हात्तीले एकपछि अर्कोले बच्चा पाएकाले आरक्षमा हात्तीको संख्या आठ पुगेको छ । अर्को हात्तीले यही महिनामा बच्चा पाउँदैछ ।
कोसीमा आन्तरिक र बाह्य पर्यटनको आकर्षकका रूपमा रहेको हात्ती सवारी तथा सफारीलाई थप सहज हुने गरी हात्ती सङ्ख्या बढेको आरक्षले जनाएको छ । हाल आरक्षमा आठवटा हात्तीमध्ये एउटा मात्रै भाले छ । सातवटा पोथी हात्ती छन् ।
आरक्षको हात्तीसारमा रहेको शोभाकली यही महिनामा आमा बन्दैछिन् । दुई वर्षअघि जङ्गली हात्तीबाट गर्भवती भएकी शोभाकलीले केही दिनमा छावा पाउने आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए ।
कोसीटप्पुमा जङ्गली र पालुवा गरी दुईथरीका हात्ती छन् । त्यसमध्ये आरक्षको हात्तीसारमा ६३ वर्षीया उमेरको शोभाकली, त्यसमुनिका अमेरिकाकली, सवस्वतीकली, दमदमकली, लक्ष्मीकली, कोसीकली, दुई वर्षीया कुशाहाकली छन् ।
भाले छावा उतरीगञ्ज गरी आठवटा छन् । पोथी हात्ती अर्थात् ढोईले गर्भवती भएको २२ देखि २४ महिनामा छावा जन्माउने गर्छन् ।
जंगली हात्ती माकुनाबाट गर्भवती भएकी शोभाकलीले छावा जन्माउने भएकी छ। माहुते राजेश सिंहका अनुसार केही वर्षअघिदेखि जङ्गली हात्तीसँगको संसर्गबाट शोभाकलीले गर्भधारण गरेकी हो ।
आरक्षका हात्तीसार शाखा अधिकृत रामगुलाम चौधरीका अनुसार पोथी हात्ती गर्भवती भएपछि त्यस हात्तीलाई हात्तीसारमा नियमित स्यहार सुसार गर्नुका साथै भेली र चामलको खीर, चनालगायतका पोषिलो खाना खुवाउने गरिएको छ ।
हात्तीलाई दैनिक १५ केजी धान, २५ ग्राम नुनलगायत आहारा दिने गरेको आरक्षले जनाएको छ। कोसीटप्पु वन्यजन्तु आरक्षमा करिब १५ वटा जंगली हात्ती भएको अनुमान गरिएको आरक्षका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।