Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः मुख्यमन्त्री बने राजेन्द्र राई

हाम्रो कोशी आवाज
कार्तिक १६ २०७८, मंगलबार
अन्ततः मुख्यमन्त्री बने राजेन्द्र राई

धरानः प्रदेश नं. १ ले मङ्गलबार नयाँ मुख्यमन्त्री पाएको छ । राजेन्द्र राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि प्रदेश १ मा शेरधन राई मुख्यमन्त्री थिए ।
नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र मुख्यमन्त्री बनेका छन् । पाँच दलीय गठबन्धनबाट नेकपा समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ’प्यासी’ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि मंगलबार दिउँसो १ बजेसम्मको समय दिए थिए । सोही बमोजिम विपक्षी गठबन्धनका तर्फबाट बहुमत सांसदको समर्थनसहित राजेन्द्रले सोमबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा एकीकृत (समाजवादी) का १०, नेकपा (माओवादी केन्द्र) का १५, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक गरी ५० सांसद रहेका छन् । मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।
पहिलो प्राथमिकता प्रदेशको नाम
उनले सबैले चासोका साथ हेरिएको प्रदेशको नाम राख्ने कुरा हो प्राथमिकता राख्ने बताए । ‘अहिले सबैले चाहेको विषय नै यही हो’, उनले भने, ‘प्रदेशको नाम राख्ने कुरालाई पहिलो प्राथमिकता दिन्छु ।’ उनले ठूलाठूला काम गर्छु भन्दै गफ नदिने बताउँदै उनले भने, ‘बजेटको भोलन अलिक ठूलो बनाइनेछ । बजेटसही ढंगले खर्च नभइ चुहावट भ्रष्टाचार भइरहेको थियो । यस्ता कुरालाई नियन्त्रण गरिनेछ ।’
चढे सिधै खुड्किलो !
नवगठित नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र विद्यार्थी संगठनको नेतृत्व गर्दा निकै चर्चामा आएका नेता हुन् । एमालेनिकट अनेरास्ववियुको दुईपटक नेतृत्व गरेका राजेन्द्र मूल पार्टीले गणतन्त्रको नारा नलगाउँदै सङ्गठनबाट गणतन्त्रको नारा पास गराएका थिए ।
जीवनका करिब साढे तीन दशक एमालेमा बिताएका राजेन्द्र अहिले नयाँ पार्टी नेकपा (एस) मा आबद्ध छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सहमतिअनुसार प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा सरकार बनेको छ । नेकपा (एस) नेतृत्वमा सरकार बनेपछि राजेन्द्रलाई नै मुख्यमन्त्री बन्ने मौका परेको हो ।
नेकपा एमाले विभाजनअघि माधवकुमार नेपालसँग प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्य, जीवन घिमिरेसहितका नेता थिए । उनीहरु एमालेमै रोजेर अलग्गिएपछि उनले सिधै खुड्किलो चढ्न पाएका हुन् । आचार्य र घिमिरे ‘साइड’ लागेपछि उनी पहिलो दर्जामा दर्ज भए । एमालेमा भएको १० बुँदे सहमतिसँगै भीम एमालेमा बसे भने राजेन्द्रले समाजवादी रोजे । भीम एमालेमा रहेर अल्पमतमा परेसँगै राईलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो । खासमा उनी आचार्य र घिमिरेपछि मात्रै उनको पालो आउँथ्यो । भनौं, उनी तेस्रो बरियताको नेताका रुपमा थिए । उनलाई अहिले मुख्यमन्त्री चिट्ठा परेझैं भएको छ ।
को हुन् मुख्यमन्त्री राई ?
राजेन्द्र २०२७ सालमा षडानन्द नगरपालिका–१० सुर्केमा जन्मिएका थिए । नेकपा एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिवबाट राजनीतिकबाट जीवन शुरु गरेका उनले कक्षा ८ मा अध्ययन गर्दादेखि अनेरास्ववियुमा सङ्गठित भएका थिए ।
राजेन्द्र अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी, बागमती अञ्चल सदस्य हुँदै केन्द्रीय प्रचार विभागको प्रमुख भए । अनेरास्ववियुको सचिव, महासचिव हुँदै दुईपटक अध्यक्षको (२०५७–०५९) र (२०५९–०६०) जिम्मेवारी निर्वाह गरेका थिए । काठमाडौंस्थित रात्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति समेत बेनका राजेन्द्रले विद्यार्थी संगठन छोडेर एमाले काठमाडौं जिल्ला कमिटीबाट पार्टी राजनीति यात्रा शुरू गरेका हुन् ।
एमालेको आठौं महाधिवेशन र नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी एमाले विभाजन भएसँगै एकीकृत समाजवादीको केन्द्रीय सचिव बनेका थिए । उनले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकारको जिम्मेवारी समेत निर्वाह गरेका छन् ।
राजेन्द्र पञ्चायतकालमा सात महिना केन्द्रीय कागारमा जेल जीवन बिताएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनका कालमा चार महिना प्रहरी तालिम केन्द्र महाराजगञ्जमा थुनिएका थिए । २०६० मा भोजपुर घरैबाट तत्कालीन नेकपा माओवादीले अपहरण गरेर लगेका उनलाई एक साता बन्दी बनाइएको थियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका राजेन्द्र लेखनमा पनि उत्तिकै रुचि राख्छन् ।

प्रकाशित मिति: कार्तिक १६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend