धरानः तिहार आइसकेपनि धरानमा मादलको बिक्री भएन । कोरोना सङ्क्रमणको जोखिमका कारण अघिल्लो वर्ष तिहारको समयमा देउसी-भैलो खेल्न बन्देज नै थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्दै तिहारमा देउसी–भैलो खेल्न रोक लगाएको थियो । प्रशासनले सुनसरीमा कोरोना संक्रमित समेत बढ्दै गएको भन्दै कार्तिक २४ गतेदेखि मङ्सिर ६ गतेसम्म सुनसरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो ।
यसपटक दशैंदेखि नै बजार लयमा फर्कियो तर मादलको बिक्री भएन । आम्दानीको स्रोत नभएको, कतिपय व्यक्ति सङ्क्रमित भइरहेको, कतिपय व्यक्ति कोरोनाका कारण बितेकोलगायतका कारण धरानेको मन रमाउन नसकेको व्यवसायी बताउँछन् ।
मादल व्यवसाय चौपट बनेको व्यवसायीहरु बताउँछन् । ‘विगतका वर्षहरुमा तिहारको बेला मादल खरिद गर्न आउँथे र बिक्री पनि भनेजस्तै हुन्थ्यो’, धरानस्थित छाताचोकमा रहेको रक ग्यारेजका सञ्चालक चमन चौधरीले भने, ‘यसपटक दुई तीनवटाबाहेक अन्य बिक्री छैन ।’
यस वर्ष देउसी खेल्ने अवस्था सिर्जना भएपनि धरानेको मन नरमाएको धरान-२ स्थित देशीलाइनस्थित धराने खुकुरी पसलका सञ्चालक टेकनाथ अधिकारी बताउँछन् । ६ वर्षको हुँदादेखि बुबालेसमेत मादल बेचेको थाहा पाउने उनी पनि धरानेको मन खासै नरमाएको बताउँछन् । उनी कतिपय व्यक्तिहरु सङ्क्रमित भइरहेको र कोरोनाकै कारण मृत्यु समेत भएकोले धराने नरमाएको बताउँछन् । ‘पहिलाको जस्तो धरानेको मन अहिले पनि रमाएको छैन’, उनले भने, ‘यसपटक आफन्तसमेत बितेको र कतिपयमा सङ्क्रमण पनि भइरहेकोले मन नरमाएको हो ।’
मादललगायत अन्य बाजागाजाको समेत व्यवसाय नभएको सञ्चालक चौधरी बताउँछन् । ‘यो सिजनमा हामीलाई गिटार, मादललगायतका सामग्री बेच्दा धेरै फाइदा हुन्थ्यो’, सञ्चालक चौधरीले भने, ‘तर यसपटक पिटिक्कै मादललगायत अन्य साङ्गीतिक रुपमा प्रयोग गरिने बाजागाजाको व्यवसाय छैन ।’
मङ्गबारदेखि नै तिहार शुरु भइसकेको छ तर बजारमा मादल खरिद गर्नेको कुनै चहल पहल छैन । मादल खरिद गर्न नआएपछि धरानका व्यवसायी पनि फुर्सदिला छन् । तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री गरेको बताउने चौधरी यसपटक तीनवटा पनि मादल बिकेको बताउँछन् ।
‘अघिल्लो वर्ष कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण तिहारमा सहर, टोलटोलमा मादल बजाएर देउसीभैलो खेल्ने अवस्था आएन तर यसपटक देउसीभैलो खेल्ने अवस्था आएको छ तर पनि व्यापार व्यवसाय नै चौपट नै छ । उनी थप्छन् ।
विशेषगरी तिहार र विभिन्न चाडपर्वको बेला मादल बजाएर रमाइलो गरिन्छ । दैउसीभैलो खेल्ने सांस्कृतिक टोलीहरूले मादल किन्ने गर्दछन् । अघिल्लो पुस्ताले मादल नै बजाउने देउसी भैलोलाई रुचाउँछन् तर पछिल्लो पुस्ताले यस्तो संस्कार भुल्दै गएका हुन् ।
आधुनिक बाजागाजाको प्रयोग साथै युवापुस्ताको आकर्षण गिटार साथै अन्य बाजामा परेकोले किनबेच घटेको व्यवसायी बताउँछन् । ‘पछिल्लो समय मोबाइल र साउण्ड बक्समा गीत बजाउँदै सांस्कृतिक कार्यक्रम हुने गरेको छ । ‘आधुनिक बाजागाजामा रमाउने जमात बढ्दै गए मादलको ब्यापार घट्नुको साथै परम्परागत बाजा लोप हुने सम्भावना पनि बढ्दै गएको छ,’ व्यवसायी अधिकार भन्छन्, ‘नेपाली सांस्कृतिक बाजा लोप हुन्छ कि भन्ने चिन्ता सबैमा छ तरपनि जोगाउनपट्टि खासै ध्यान गएन, त्यसैले सबै लाग्नुपर्छ ।’ धरानमा आधा दर्जन व्यवसायीहरूले मादल बेच्ने गरेका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज









