Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओली विराटनगरमा, भने- आफूले चाहे सातामै सरकार ढल्छ

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७८, सोमबार
ओली विराटनगरमा, भने- आफूले चाहे सातामै सरकार ढल्छ

विराटनगरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनका नेताहरुले झुटो बोलेको बताएका छन् ।
नेकपा (एमाले) मोरङ जिल्ला कमिटीले आज (सोमबार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन विराटनगर आएका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताए ।
‘एमसीसीको बारेमा सरकारलाई सोध्नुस् न,’ उनले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ । दुई जनामध्ये एउटाले त झुट बोलेको हो नि, होइन ?’ उनले एमालेले अहिले नै एमसीसीका बारेमा केही नबोल्ने बताए ।
ओलीले प्रतिनिधिसभा विघटन उल्टाउँदा देखिनै अदालतमा राजनीति घुसेको बताए । विघटन सम्बन्धी फैसलाले न्याय मरेको उनले बताए । जनताको सार्वभौमसत्ता खोसेर अदालतमा लिने खालका असंवैधानिक र अन्यायपूर्ण फैसला भएर न्याय पहिल्यैदेखि मरेको ओलीको तर्क थियो । ‘तपाईँहरूले थाहा पाउनु भएन ?’ ओलीले भने, ‘त्योबेला तपाईहरूले थाहा पाउनु भएन छ, अहिले अलिअलि छताछुल्ल भएपछि थाहा पाउन थाल्नु भएछ ।’
ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट मन्त्री बनेका नेताहरूप्रति लक्षित गर्दै भने, ‘मन्त्री बन्न प्रदेश सरकार, संघीय सरकार ढाल्ने र एमाले छाड्नेहरु आगामी निर्वाचनमा आफ्नो जमानत जोगाउन हैसियतमा छैनन् ।’
‘संघ र प्रदेशको सरकार ढालेर यतिबेला खुसी भएका छन् । तर म चुनौती दिन्छु, आगामी निर्वाचनमा उनीहरुले आफ्नो जनमत जोगाउन सक्ने छैनन्’, उनले थपे । ओलीले पार्टीभित्र बिग्रिएकाहरुले एमाले पार्टी छोडेर गएको पनि दावी गरे ।
अधिकांश समय अदालत र वर्तमान सरकारको आलोचनामा खर्चिएका ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी एक नम्बरमा आउने बताए । आफूले चाहे एक सातामा सरकार ढाल्न सक्ने बताउँदै उनले लुतो लागेको सरकार आफैं खुइलिने बताए । गठबन्धनमा रहेका पाँच दल पाँचतर्फ फर्किएको बताउँदै उनले सरकार धेरै रहे १३ महिनासम्म मात्रै रहने बताए ।

प्रकाशित मिति: कार्तिक २२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend