Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फोहोरबाट ग्याँस उत्पादन

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७८, मंगलबार
धरानमा फोहोरबाट ग्याँस उत्पादन

धरानः कोशी सडक खण्डको सेउती पुलभन्दा सय मिटर माथि डम्पिङ गर्दै आएको फोहोरबाट अब चाँडै ग्याँस उत्पादन थालिने धरान उपमहानगरपालिकाले जनाएको छ ।
धरानस्थित चारकोशे जङ्गलमा फोहोर डढाउँदै आएको उपमहानगरपालिकाले अब फोहोरबाट मोहर कमाउने लक्ष्य राखेको छ । काठमाडौंको ‘वेष्ट टु इनर्जी’ नामक संस्थाले फोहोरबाट ‘बायो ग्यास’ (मिथेन) उत्पादन गर्दै धरानको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएपनि अहिलेसम्म काम हुन सकेको थिएन । इनर्जीले गरी उत्पादनको काम मङ्सिरदेखि थाल्ने जनाइएको छ । ग्याँस उत्पादन शुरु भएपछि चारकोशे जङ्गल क्षेत्रमा फ्याँकिदै आएको फोहोरको समस्या समाधान हुने विश्वास गरिएको छ ।
अघिल्लो फागुन १५ गतेबाट प्रारम्भिक प्रशोधन गरिने निर्णय भएको पनि ढिलै भएपनि मङ्सिरदेखि शुरुवात गरिने धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज घिमिरेले बताए । उपमहानगरपालिका वडा नं. ५ पानबारीस्थित निर्माण कार्य सम्पन्न भई उत्पादन परीक्षण पनि गरिसकिएको उनले जानकारी दिए । ‘आगामी २०७८ साल मङ्सिरभित्रमा फोहोरबाट उर्जा उत्पादन शुरु गरी उत्पादित ग्याँस बजारमा बेचविखन गर्नेछौं ।’
उपमहानगरपालिकाले फोहोरमा लाग्ने आगलागी नियन्त्रणका लागि डम्पिङग साइड व्यवस्थित गर्ने जनाएको छ । चारकोशे जङ्गलको डम्पिङ साइडमा फालिएको फोहोरहरुमा तामा, फलामलगायत धातुजन्य पदार्थ सङ्कलन गर्न आउने, कवाडी टिप्ने व्यक्तिहरुले फोहोरमा आगो लगाउने गरेको कारण वर्षेनी वातावरणीय समस्या उत्पन्न भइरहेको छ ।
डम्पिङ साइडमा आगलागी हुँदा बेलाबेलामा वातावरणीय समस्या सिर्जना हुने गरेको र अब चाँडै नै डम्पिङ साइड व्यवस्थित गरि दैनिक रुपमा फोहोर व्यवस्थापन गरिने धरान उपमहानगरपालिकाले जनाएको छ ।
धरानमा जैविक–अजैविक गरी दैनिक ३० देखि ३५ टन फोहोर उत्पादन हुन्छ । उपमहानगरपालिकाका अनुसार १० देखि १५ प्रतिशत फोहोर ‘डम्प’ गर्ने जिम्मेवारी पुनः नगरपालिकालाई नै हुन्छ । धरानमा दैनिक ३० देखि ३५ टन फोहोर उत्पादन हुन्छ । त्यसमध्ये ४० प्रतिशत जैविक रहेको छ भने ६० प्रतिशत अजैविक फोहोर उत्पादन हुन्छ ।
इनर्जीलाई ५ सय केजी मिथेन ग्याँस उत्पादन गर्न दैनिक ५० टन जैविक फोहोर आवश्यक पर्छ । तर, धरानमा उपमहानगरमा करिब १३ टन मात्रै जैविक फोहोर उत्पादन भइरहेको जनाइएको छ । दैनिक ५ सय केजी ग्याँस उत्पादन गर्दै टेम्पोलगायतलाई दिने लक्ष्य कम्पनीको छ । जुन ग्याँस पेट्रोलका गाडीहरूका लागि अति उपयुक्त मानिन्छ । त्यसका लागि धरान–८ स्थित हिमालयन पेट्रोल पम्पनजिकै ग्यास भर्ने व्यवस्था गरिनेछ । इनर्जीले धरान उपमहानगरपालिकासँग गरेको सम्झौताअनुसार २० वर्षसम्म कम्पनीले सञ्चालन गर्नेछ । त्यसपछि धरान उपमहानगरलाई हस्तान्तरण गर्ने नगरका वातावरण महाशाखाका वातावरण घिमिरेले बताउँछन् ।
वातावरणीय हिसाबले जङ्गल क्षेत्रमा फोहोर डम्पिङ गर्नु खतरापूर्ण मानिन्छ । वातावरण संरक्षण ऐन २०५३, संशोधन २०७५ को दफा ९ को (१) मा राष्ट्रिय सम्पदाको संरक्षण गर्नु सबै निकायको दायित्व हुने उल्लेख गरिएको छ । तर, धरान, इटहरीले डम्पिङ गर्दै आएका छन् ।
इटहरीको फोहोरमैला धरान उपमहानगरपालिका क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा फाल्ने गरिएको छ । अहिले पनि इटहरीले धरान क्षेत्रमा पर्ने चारकोशे जंगलभित्र नै फोहोरहरु डम्प गरिरहेको छ । सेउती पारी फालिएका फोहोरका कारण तल्लो भेगका सर्वसाधारण नागरिकहरुलाई समस्या उत्पन्न हुने गरेको छ । यस विषयमा इटहरी उपमहानगरपालिकासँग थप छलफल गरेर वातावरणीय समस्या समाधान गर्ने धरान उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend