विराटनगरः मोरङमा एक युवाको हत्या भएको छ । धारिलो हतियार खुकुरी प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ ।
धनकुटाको पाख्रिवास घर भई इटहरी बस्ने रिजन दाहालको हत्या भएको छ ।
मोरङको बूढीगङ्गामा आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झगडा शुरु भएको थियो । दुई पक्षबीचको झगडामा खुकुरी प्रहार हुँदा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको हत्या भएको मोरङ प्रहरीले जनाएको छ । पाख्रिबास नगरपालिका स्थायी घर भई उनी सुनसरीको इटहरी–१३, खनारमा डेरा गरी बस्दै आएका थिए ।
बुढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थडे (जन्मदिन) मनाउन रिजन आइतबार राती घर गएका थिए। नानु र रिजन साथी हुन्। बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका बुढीगंगा-६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी-११ का २२ वर्षीय राजु तामाङ लगायत छ-सात जनाको समूहसँग दाहालको विवाद भएको थियो । विवाद बढदै गएपछि उनीहरुले रिजनलाई लिएर बुढीगंगा-६ डम्बरबहादुर लिम्बूको बारीमा लगेर आक्रमण गरेका थिए। उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले दिएको जानकारी अनुसार खनारकै रिलायन्स धागो उद्योगमा काम गर्दै आएका दाहालको ६-७ जनाको समूहसँग विवादपछि खुकुरी प्रहारबाट हत्या भएको हो ।
घटनामा धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र मोरङको बूढीगङ्गा गाउँपालिका-६ कोयलपुर नानु घाइते भएका छन् । झगडा छुट्याउन गएका बखत हातमा खुकुरी प्रहार भई उनीहरु घाइते भएका हुन् ।
टाउकोमा खुकुरी प्रहार भएपछि गम्भीर घाइते भएका दाहाललाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हत्यामा संलग्नहरु लागूऔषध प्रयोगकर्ता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी राईले जानकारी दिए ।
हत्यामा संलग्नताको आशंकामा दुई व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको बताउँदै एसपी राईले संलग्न्ता यकिन नभएकाले अभियुक्तको पहिचान भने गोप्य राखिएको बताए । झगडाको कारण भने खुल्न नसकेको एसपी राईको भनाई छ ।
