विराटनगर: प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।
बैठक सुरु हुनासाथ सभामुख भण्डारीले आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षका एक जना पनि सांसद उपस्थित नरहेको भन्दै बैठक स्थगित भएको घोषणा गरेका थिए ।
यसअघि नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएका थिएनन् ।
त्यसपछि बसेको बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
बैठक स्थगित भएपछि मुख्यमन्त्री राजेन्द्र राईले सभामुखको भूमिकामा प्रश्न उठाएका छन् । उनले सभामुखले एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको आरोप लगाए ।