Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कर सप्ताह शुरु

हाम्रो कोशी आवाज
मंसिर १ २०७८, बुधबार
धरानमा कर सप्ताह शुरु

धरानः धरानमा पनि १० औं राष्ट्रिय कर दिवस मनाइँदैछ । आन्तरिक राजश्व कार्यालय धरानले बुधबारदेखि एक सातासम्म कर दिवस मनाउन लागेको हो ।
‘स्वच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र समृति’ भन्ने मूल नाराका साथ यो वर्षको कर दिवस मनाउन लागिएको कार्यालयका प्रमुख गोविन्दराज आचार्यले जानकारी दिए । उनले करसँग डराउनुपर्ने अवस्था नरहेको बताए । ‘करसँग अहिले डराउनुपर्ने अवस्था छैन’, सुनसरी उद्योग वाणिज्य संघका आयोजितकर सप्ताह कार्यक्रमको उद्घाटन अवसरमा बोल्दै उनले भने ।
कार्यक्रममा उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी पुरस्कृत र पहिलो सेवाग्राहीलाई स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो । यस्तै, अन्तक्र्रिया तथा करदाता शिक्षा कार्यक्रम, मैत्रीपूर्ण फुटसल खेल र म्यूजिकल चियर प्रतियोगिता, सरसफाइ तथा वृक्षरोपण कार्यक्रम, बक्तृत्वकला प्रतियोगिता, रक्त्तदान तथा पुरस्कार वितरण कार्यक्रम राखिएको उनले जानकारी दिए ।
बढी आयकर दाखिला गर्ने व्यवसायी सम्मानित
कर दिवसको पहिलोदिन सबैभन्दा धेरै कर तिर्ने व्यवसायी र कार्यालयका कर्मचारीलाई सम्मान गरिएको छ । कार्यालयको कार्यक्षेत्रअन्तर्गत आर्थिक वर्ष २०७६।०७७ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने जिल्लागतरुपमा करदाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा धरानबाट सुनसरी ओखती घरका सञ्चालक तिलकराज पौडेल (सुनसरी), गुराँस लघुवित्त वित्तीय संस्था लि. उदय नारायण बराल, सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.का भुपतिलाल श्रेष्ठ (तेह्रथुम), हिमाल ट्रेड एण्ड कन्सर्न, हिमाल श्रेष्ठ, (संखुवसभा) एलिसा सप्लायर्सकी विनादेवी श्रेष्ठ (भोजपुर) लाई सम्मान गरिएको थियो । धरानको कार्यालयमा ५७ हजार करदाता रहेको प्रवक्ता गोपाल राईले जानकारी दिए ।
कार्यक्रममा कार्यालयका कम्प्युटर अपरेटर गोविन्दप्रसाद पौडेलले सूचना प्रविधिमा महत्वपूर्ण योगदान गरेको तथा छिटो छरितो र प्रभावकारीरुपमा कार्यसम्पादन गरेको भन्दै उनलाई समेत सम्मान गरिएको थियो ।
कार्यालयका प्रमुख आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरका डा. रामप्रसाद घिमिरे रहेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं १ विराटनगरका सचिव सुमन दाहाल, संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्दकुमार शाह, सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरिधारी सापकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्त्तब्य कर अधिकृत प्रेमप्रकाश मण्डलले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रवक्ता गोपाल राईले गरेका थिए ।  तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend