धरानः सुनसरीको दुहवी नगरपालिका–१२ मा मोटरसाइकलको ठक्करले साइकलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–०४६ प ७७३५ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई राति १० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर साइकलको पछाडि सवार सुनसरीको गढी गाउँपालिका–५ का ३३ वर्षीय हरि ऋषिदेवको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा राति ११ बजेतिर मृत्यु भएको हो ।
यस्तै, उदयपुर बेलका नगरपालिका ५ जहडा मदन भण्डारी लोक मार्गस्थितमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० वर्षीया इच्छाकुमारी राई रहेकी छिन् ।
शनिबार बेलुका साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३४प २०३७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार राति साढे ९ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट मोटरसाइकल चालक सप्तरी सप्तकोशी नगरपालिका १ का ३५ वर्षीय आलोक राई समेत घाइते भएका छन् । उनको सोही अस्पतालमानै उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ ।