Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चुलाचुली गाउँपालिकाद्वारा सार्वजनिक विदा

हाम्रो कोशी आवाज
मंसिर ९ २०७८, बिहिबार
चुलाचुली गाउँपालिकाद्वारा सार्वजनिक विदा

धरानः इलामको चुलाचुली गाउँपालिकाले एकदिन स्थानीय विदा दिने निर्णय गरेको छ ।
भोलि अर्थात् १० गते एकदिनको लागि सम्पूर्ण कार्यालय, शिक्षण संस्थामा विदा दिइएको प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए । उनका अनुसार किरात धर्म संरक्षक गुरु लाफयङ स्व. देवबहादुर तुम्वापोको जन्मजयन्ति अवसरमा स्थानीय गाउँपालिकाले विदा दिइएको छ । जन्मजयन्तिसँगै मानव जातिकै माङ्गेना चोत्लुङ (शिर उठाउनी/ग्रहशान्ति पनि आयोजना हुने आयोजकले जनाएको छ ।
फल्गुनन्द सेवा सङ्घका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा माङ्गेन्ना हिमको उद्घाटन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम साथै फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको वार्षिकोत्सव पनि मनाइनेछ ।
‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ इलाम वर्षेनी मङ्सिर १० गते जन्मजयन्ति साथै अन्य विविध कार्यक्रम आयोजना गर्दै आएको छ । सङ्घले महान समाज सुधारक १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाएको बाटो अङ्गीकार गर्दै आएको छ ।
यस्तै, फल्गुनन्द नोमाङ्गेना सेवा सङ्घद्वारा स्थापित फल्गुनन्द–लाफयङ बहुभाषिक निसाम हिम अर्थात् पाठशालाको वार्षिकोत्सव कार्यक्रम पनि राखिएको जनाइएको छ । सो पाठशाला नेपालकै पहिलो बहुभाषिक पाठशाला हो ।
कार्यक्रममा राष्ट्रियस्तरका कलाकार राष्ट्रिय गायक विकास लिम्बू, राष्ट्रिय डान्सर प्रितम सम्वाहाम्फेलगायतको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।
भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले मिति २०६९ साल कात्तिक २९ गतेका दिन इलाम जिल्लाको चुलाचुली गाविस वडा नं. १, कमलमा फाल्गुनन्द सत्यहाङ्मा नोमाङ्गेन्ना सेवा सङ्घको जन्म भएको थियो ।
२०७० सालको दीपावालीको उपलक्ष्यमा आर्थिक सहयोगका लागि पनि माङलाङ केलाङको आयोजना गरेपछि २०७० सालमै संस्था दर्ता गरेर संस्थाको नाम ‘फाल्गुनन्द नोमाङ्गेन्ना सेवा सङ्घ’ राखेर जिल्लामा संस्था दर्ता भएको थियो । यस संस्थाको मुख्य उद्देश्य नेपालका १६ औं राष्ट्रिय विभूति समाजसुधारक, दार्शनिक महागुरु फल्गुनन्दको स्मृतिलाई जीवन्त राख्नु हो ।
यसअघि संविधानसभाका तत्कालीन अध्यक्ष तथा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङबाट नेपालकै पहिलो बहुभाषिक पाठशालाको समुद्घाटन भएको थियो भने २०७३ साल मङ्सिर १० गते पाठशालाको प्रथम वार्षिक उत्सव तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालूको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
यस्तै, २०७४ सालमा बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यतिबेला नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको पूर्ण कदको शालिक अनावरण, दाताहरूलाई सम्मानलगायतको कार्यक्रम राखिएको अध्यक्ष तुम्बापोले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend