धरानको वर्तमान
सन् १५८४ अर्थात् विक्रम सम्वत् १६४१ मै निर्मित विजयपुर, एउटा सानो शहरका रूपमा स्थापित विजयपुर जो तत्कालीन मोरङ राज्यको राजधानी थियो, नै आजको वैभवशाली धरानको माउ हो भन्दा अत्युक्ति नहोला । तसर्थ धरानको ऐतिहासिक स्थापना भन्नु नै विजयपुरको ऐतिहासिक अवस्थिति बुझ्नुपर्ने हुन्छ । धरान सहरको स्थापनाकाल यकिनसँग भन्न नसकिए पनि आधुनिक धरानको प्रारम्भ भने चन्द्रपुर बजारको स्थापना (वि.सं.१९५६) सँगै भएको हो । त्यसअघि धरानको पहिलो बजार नै विजयपुर बजार थियो । त्यसपछि साँगुरी नाकाको फेदीमा भने दोस्रो बजार बन्यो फुस्रे ।
धरानमा उद्योग व्यापार
धरानको स्थापना आवास क्षेत्रका रूपमा विकसित बन्दैजाने उद्देश्यले भएको देखिँदैन । मूलतः पूर्वी पहाडको निकासी पैठारी व्यापारका लागि धरान सुगमस्थल थियो । यातायातको विकासले राजमार्ग उत्तरतर्फ तन्किँदै गएपछि पहाडी व्यापार पनि क्रमशः ठाउँ सर्दै उत्तरतर्फ लागेको देखिन्छ । ठूला उद्योगहरु महेन्द्र राजमार्गभन्दा दक्षिणतर्फ केन्द्रित रहेका र यातायात तथा निकासी पैठारी भन्सार समेत विराटनगर, जोगवनीमा रहेको कारणले धरानमा ठूला व्यापारिक केन्द्र स्थापना हुन सकेनन् । स्थापित उद्योग तथा व्यापारहरू पनि क्रमशः धरानबाट बाहिरिएको यथार्थ धरानले चुपचाप सहनुप¥यो । उद्योग वाणिज्य सङ्घ, सुनसरीमा दर्ता भएका र आर्थिक वर्ष २०६९।७० सालमा नवीकरण भएका सक्रिय उद्योगहरुको संख्या धरानमा २१५ छ र व्यापारको संख्या भने ६१६ छ । यो तथ्याङ्कमा धरान आसपासका क्षेत्रका केही उद्योग तथा व्यापारको संख्या पनि समाविष्ट छ ।

बैंक तथा वित्तीय संस्थाको उल्लेख्य संख्या (१९ बैंक र ३ फाइनान्स कम्पनी र झण्डै ५० वटा सहकारीहरू) रहेको धरानमा खासगरी दैनिक जीवनयापनका सामानको खरिदबिक्री, लत्ताकपडा, रेडिमेड सामान, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, औषधी, होटल, मादकपदार्थ, सुनचाँदी गरगहना, भाडा पसल, उपहार सामग्री, पुस्तक तथा पत्रपत्रिका, साइबर, पान जुस कोल्ड ड्रिक्स, फलफूल तथा तरकारी, छापाखाना जस्ता उद्योग एवं व्यापार धरानको व्यवसायका रूपमा सञ्चालित छन् । निजी क्षेत्रका विद्यालय, उच्च मावि तथा कलेजहरु पनि व्यवसायका रूपमा धरानमा प्रशस्तै छन् । कम्प्युटर इन्स्टिच्युटदेखि ओपन युनिभर्सिटीसम्म धरानमा छन् । व्यापारका रूपमा स्थापित यी संस्थाहरु केवल व्यापार मात्र गरि।हेका छैनन् बरु यिनीहरुले व्यापक मात्रामा रोजगारी सिर्जना गरेका छन् अनि बजारमा धनको आपूर्तिमा ठूलो योगदान दिएका छन् । धरानको कुल सक्रिय श्रम मध्ये झण्डै २५ प्रतिशत श्रम यो क्षेत्रमा ओघटिएको छ ।
(स्रोतः उद्योग वाणिज्य संघ सुनसरी)
धरानको विगत:
२०४५ सालको महाभूकम्पले क्षतविक्षत पारेको धरानलाई तत्कालीन समाजले मृत शहर भन्न थालिसकेको थियो । धरानको बीच छातीमा जनसहयोगमा निर्मित एउटा सानो धरान अस्पताल थियो । आपतकालको सामना गर्न धराने जनता, संघ–संस्था र निजी क्लिनिक सञ्चालन गर्ने डाक्टर कम्पाउण्डर समेत उद्धारमा जुटेका थिए । धरानको पुनर्निर्माणको ठूलो चुनौति धराने जनतासामु थियो । राज्य तहबाट सधैं ठगिएको धरानले त्यसताका पनि उत्साहजनक परियोजना पाएन । २०४६ सालको जनआन्दोलनपछि प्राप्त राजनीतिक स्वतन्त्रतासँगै धरानले मौलाउन अवसर पायो । हुन त राज्यबाट खोसिएका अञ्चल अदालत र खाद्य प्रयोगशाला प्रधानमन्त्रीको सहर विराटनगरमा सारिए । मेडिसिन क्याम्पसको बास उठाइयो धरानबाट । यातायात कार्यालय इटहरीमा लगियो । तर २०४८ सालमा भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाले धरानको अनुहार नै बदलिएको छ । धराने जनताले यसलाई बुझेका छन् । प्रतिष्ठानको स्थापनालाई नै नवीन धरान पुनर्निर्माणको कोसेढुङ्गो हो भन्दा अत्युक्ति हुँदैन। धरानलाई राज्यले लगाएको ठूलो गुन हो यो भनेर हामीले खुशी हुनै पर्दछ ।

धरानको अर्थतन्त्रमा रेमिटान्सको योगदान र रोजगारी
रेमिटेन्सले धरानको अर्थतन्त्रमा मुख्य आधारको भूमिका निर्वाह गर्दछ । वैदेशिक रोजगारमा रहेका झण्डै ३५ हजार धरानेको कमाइमध्ये केहीवर्ष अघिसम्म ९० प्रतिशत कमाई धरानमा रेमिटेन्सका रुपमा भित्रिने गथ्र्यो । धरानको कुल आर्थिक कारोबारको त्यो रकम झण्डै २५ प्रतिशत हुन आउँथ्यो । तर, आर्थिक गतिविधिको वर्तमान सिनारियो त्यो भन्दा भिन्न छ । बेलायतले भूपू सैनिकहरूलाई बेलायतमै बस्न दिने अवसर दिएकाले उता कमाएर यता पठाइने धन अहिले बेलायतमै अडिन थालेको छ । यसरी वार्षिक एक अर्ब रुपैयाँभन्दा धेरैे धनराशी बेलायततिरै फर्किनुले हाम्रो बजारको मुद्रा प्रदायमा कमी आएको छ । अन्य खाडी मुलुक, मलेसिया, इजरायल, कोरिया आदि देशबाट आउने रेमिट्यान्स र बेलायत नगएका भूपू सैनिकका परिवारले पाउने पेन्सनवापतको रकम मात्रमा धरानले चित्त बुझाउनुपरको छ । मोटोरूपमा हेर्दा रेमिट्यान्समा झण्डै ७० प्रतिशत गिरावट आएको छ । अर्थात् धरानको अर्थतन्त्रमा हिजो २५ प्रतिशत योगदान दिएको रेमिटान्सको अब केवल ७.५ प्रतिशत मात्र योगदान रहेको अवस्था छ । यसले धरानको क्रयशक्तिमा कमी ल्याएको छ । वैदेशिक रोजगारीमा धरानको सक्रिय श्रममध्ये झण्डै ३० प्रतिशत जति श्रम संलग्न छ । अन्य पेशा वा व्यवसायमा कार्यरत् श्रमको गणना गर्दा लगभग १० प्रतिशत श्रम त्यतातर्फ आकर्षित भएको पाइन्छ । यसरी विश्लेषण गर्दा धरानको कुल सक्रिय श्रममध्ये अझै ३५ प्रतिशत श्रमलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता देखिन्छ । यो धरानको चलायमान श्रम हो । अर्थात् धरानको चलायमान श्रम जो ३५ प्रतिशत छ, विदेश जानसक्छ, काममा जोडिन सक्छ, बेरोजगार नै रहन सक्छ वा अपराधमा सामेल हुनसक्छ । यसैलाई हेरेर हो हामीले भावी रणनीति र युवा मैत्री कार्यक्रमहरु बनाउने ।
भोलिको सुनौलो धरान ?
हिजो हामी कहाँ थियौ ? अहिले कहाँ छौं ? भन्ने प्रश्नको उत्तर थाहा पाइयो भने मात्र हामी भोलि कहाँ जाने हो भन्न सकिन्छ । निश्चय पनि हामी सबैलाई अहिले बाँचिरहेको जीवन भन्दा सरल र सुगम जिन्दगी चाहिएको हुन्छ । तर त्यसको प्राप्ति कसरी हुन्छ ? कसैले पनि हामीलाई ठीकसँग त्यो कुरा सिकाइ दिएन भने हामी बाटो बिराउन पनि सक्छौं । वा गलत बाटो समातेर छिट्टै धन कमाउने अवैधानिक कार्य पनि गर्न पुग्छौं । धरानलाई पुनर्निर्माण गर्ने धराने हातहरूले त्यो अवैधानिक बाटो परित्याग गर्नुपर्छ र सुन्दर धरान बनाउन रचनात्मक काम गर्नुपर्छ ।
स्वास्थ्य केन्द्रका रूपमा धरान ?
धरानलाई स्वास्थ्यकेन्द्रका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छ । हरेक वर्ष सरकारले उक्त प्रतिष्ठानलाई दिने बजेटमा कटौती गर्दै लगेको छ । सरकारको यो रवैयाप्रति हामी धरानेले प्रतिवाद गर्ने, दवाब दिने जस्ता काम गर्नुको साटो हामी बीपीको डाक्टर कुट्ने, अस्पताल तोडफोड गर्ने, गेट भत्काउने, अस्पतालमा हड्ताल गर्ने, जमीन कब्जा गर्ने जस्ता उल्टा क्रियाकलापमा व्यस्त छौं । के यसले हाम्रो धरानको स्वास्थ्य केन्द्र बन्ने सपना पूरा गर्न मद्दत पुग्ला ? बरू किन हामी बीपीभित्र किड्नी सेण्टर स्थापना गर्न श्रम जुटाइरहेका छैनौं ? किन मुटुरोगको शल्यक्रिया धरानमै हुने व्यवस्थाका लागि बल गरिरहेका छैनौं ? उद्देश्य एउटा र क्रियाकलाप अर्को भयो भने कसरी लक्ष्यमा पुगिएला ?
पर्यटन केन्द्रका रुपमा धरान ?
धरानलाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने परिकल्पना हामीसँग सपना झैं छ । यद्यपि यसका पूर्वाधारहरु हामीसँग पर्याप्त छैनन् । पर्यटन सूचना केन्द्र समेत हामीले यो नारा पारित गरेको १५ वर्ष बितिसक्दा पनि स्थापना गर्न सकेका छैनौं । पर्याप्त योजनाको अभावमा ३ वर्षअघि नेपाल भ्रमण वर्ष २०११ लाई समेत धरानले ओठे स्वागतबाहेक अरू केही गर्न सकेनौं । धरान आसपासका क्षेत्रको परिचय तथा प्रचारप्रसार कम भएको छ । काठमाण्डौमा धरान पर्यटन केन्द्र स्थापना गर्नुपर्छ । राजधानीसँगको प्रत्यक्ष नाता नभएसम्म हाम्रो पर्यटन प्रवद्र्धन नारा मात्र हुन्छ ।
शिक्षा केन्द्रका रूपमा धरान ?
धरानमा शैक्षिक संस्थाहरूको घनत्व काठमाण्डौ पछि पहिलो स्थानमा छ । औसतमा प्रति वर्ग किमि २० शैक्षिक संस्था रहेको धरानलाई शैक्षिक केन्द्र नै बनाउने हो भने एउटा सक्षम विश्वविद्यालयको स्थापना धरानमा हुनुपर्दछ । सबै विषयहरुमा मास्टर्स डिग्री पढाउने व्यवस्था धरानले नै गर्नुपर्दछ । दुई चार वटा संस्था देख्ने बित्तिकै भिजन घोषणा गर्ने हतार गर्ने राजनीतिक दल अनि ठोस योजना नबनाउने स्थानीय सरकार ठ्याक्क मिल्नाले हाम्रो यो सपना अधूरो नै छ ।

धरानलाई समृद्ध पार्ने हो भने…
धरानलाई समृद्ध पार्न आर्थिकरूपले धरानलाई सक्षम पार्नुपर्छ । आर्थिक सक्षमताका लागि आर्थिक क्रियाकलापमा वृद्धि, रोजगारीको सिर्जना, व्यापार व्यवसायको सुरक्षा, शिक्षाको विकास, फजुल खर्च नियन्त्रण अनि सकारात्मक सोच चाहिन्छ । एक कार्य योजना अनि त्यो पूरा गर्ने प्रतिबद्धता चाहिन्छ ।
क. दूव्र्यसन विरुद्ध धरान
धरान दुव्र्यसनको समस्याबाट ग्रस्त छ । दुव्र्यसनमा फँसेको युवापिढीले भोलिको सुन्दर धरान निर्माण गर्न सक्दैन । आजको धरानको प्रमुख समस्या नै दुव्र्यसनमा लिप्त युवा जमात हो । धरानको यो रोग कसरी निरूपण गर्ने ? के उपाय छ यो रोगविरुद्ध लड्ने ? आजै यसको समाधान प्रारम्भ गरेनौं भने भोलि पछुताउनु शिवाय हामीसँग अर्को कुनै विकल्प रहँदैन ।
ख. पर्यटन र धरान :
धरानले ऐतिहासिक मठ–मन्दिरहरु पाएको छ । दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र पञ्चकन्या जस्ता ख्यातिप्राप्त मन्दिरहरूले यस क्षेत्रलाइ धार्मिक पर्यटनका लागि पर्याप्त सम्भावना भएको पुष्टि गर्दछ । त्यतिमात्र होइन धरान आसपासका धार्मिक क्षेत्र र आकर्षक रमणीय क्षेत्रहरुलाई समेटेर धरानले पर्यटकीय व्यवसाय र उद्योगहरु चलाउन सक्ने पर्याप्त अवसर छ । यसका अतिरिक्त अन्य साहसिक पर्यटकीय खेलहरु जस्तैः प्याराग्लाइडिङ, माउण्टेन राइडिङ, रोलर कोस्टर, बञ्जी जम्पिङ र रक क्लाइम्बिङ सञ्चालन गर्न सकिने पर्याप्त सम्भावना बोकेको धरानलाई पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न सकिन्छ ।
शहर निर्माण गर्ने आधारभूत रणनीतिहरुः
लक्ष्य निर्धारण गर्नेः
यसरी गर्ने कि मानवीय र गैरमानवीय स्रोतहरुको उच्च प्रविधिको प्रयोगद्वारा उपयोग गर्दा वातावरणीय सन्तुलन जोगाउने ठोस कार्यक्रमसहित
–गुणस्तरीय जीवन यापनमा पूरा ध्यान दिने
–प्राकृतिक वातावरण प्रति पूर्ण सम्मान प्रदान गर्ने
–खास उद्देश्य प्राप्तिका लागि प्रविधिको उपयोग गर्ने
–बहुमूल्य स्रोत तथा साधनको अधिकतम सदुपयोग गर्ने
–उच्चस्तर तथा क्षमता कायम गर्ने
–सिस्टम एप्रोचको प्रयोग गर्ने
–जीवनचक्र प्रणालीलाई समायोजन गर्ने
–जिम्मेवार तथा अग्रदर्शी बन्ने
–विविधतालाई रक्षा गर्ने
–सम्पदाहरुको संरक्षण गर्ने

उपसंहार :
दक्षिणतर्फको घना चारकोसे झाडीमा जङ्गली जनावरको भयसँगै औलोको भयले सामरिक दृष्टिले उँंचो भागमा इतिहासमा स्थापना भएको विजयपुरको बस्तीलाई निकै लामो समय लागेको हुनसक्छ धरानको समथर भागमा फैलावट लिन । यो कुरालाई सन् १५८४ मा स्थापित विजयपुरको इतिहासबाट झण्डै ३१६ वर्षपछि चन्द्रपुर बजार सन् १९०० (वि.सं. १९५६) मा बस्नुले पुष्टि गर्दछ । इमानसिंह चेम्जो¨को लिखित इतिहासबाहेक विजयपुरको आयु पुष्टि गर्ने अर्को कुनै तथ्य भए हामी कति वर्षदेखि यस भू–भागमा बसोबास गर्दै आएका हौं भन्ने बुझ्न सजिलो हुने थियो । अन्यथा यो नै हाम्रो प्रामाणिक आयु हामीले मान्नुपर्दछ । त्यसैले अहिलेको विजयपुर इतिहासमा कुनैदिन एउटा राज्यको राजधानी रहेछ र त्यस राजधानीको विकासलाई नेपाल एकीकरणको अभियानले पूर्णविराम लगाएछ । नभए यो भव्यशहरका रूपमा विकसित भइसक्ने थियो भन्ने अनुमान गर्न सकिन्छ ।
तर धरानको विकासको बाधक के होला त ?
–बजारमा घरभाडा महङ्गो छ
–श्रमको ज्याला महङ्गो छ
–आन्तरिक ढुवानी भाडा महङ्गो छ
–बजार भाउ अनियन्त्रित छ
–वस्तुको मूल्यमा मनपरितन्त्र हावी छ
–सिण्डिकेट प्रणाली मजबुत छ
–धरानमा ठगिइन्छ भन्ने प्रचार व्यापक छ
–धरान डेञ्जर ठाउँ हो भन्ने अद्यापि चर्चा छ
हामी अझैपनि आशावादी छौं कि समृद्ध धरान बनाउने अभियानमा हामी धरानेलाई कसैले रोक्न भने सक्ने छैन ।
हाम्रो सपना होः
–स्वास्थ्य केन्द्रका रूपमा धरान
–पर्यटन केन्द्रका रूपमा धरान
–शिक्षा केन्द्रका रूपमा धरान
–दुव्र्यसनमुक्त धरान
–सुरक्षित बासस्थान धरान
–ब्यापारिक केन्द्रका रूपमा धरान
–खेलकुदको राजधानी धरान र
–सुन्दर धरान
(सम्पादनपछि पुनः प्रकाशित)
