धरानः धरानमा बालमैत्री स्थानीय शासनले परिवर्तन ल्याउँदै गएको छ ।
धरान उपमहानगरपालिकाले धरानलाई बालमैत्री घोषणा गर्न भन्दै २०७५ सालदेखि लागेको थियो । अहिले १४ वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ भने ६ वडा वडा बालमैत्री घोषणा हुन बाँकी छ । हाल धरानमा १, २, ३, ६, ९ र १० नम्बर वडा बालमैत्री घोषणा हुन बाँकी छ । बालमैत्री उपमहानगरपालिका बनाउन धरान लागिपरे पनि सम्भव भएको छैन । धरानका सबै वडालाई २०७७ भित्र बालमैत्री घोषणा गर्ने भनेपनि अहिलेसम्म सकिएको छैन ।
अन्य वडालाई पनि बालमैत्री बनाउन उपमहानगरपालिका लागेपनि लकडाउन अर्थात् कोरोना कहरका कारण हालसम्म कार्यक्रम स्थगित छ । महिला विकास अधिकृत जुनु राईले कोरोनाका कारण अन्य वडा बालमैत्री हुन नसकेको बताउँछिन् । उनले मङ्सिरको अन्तिमदेखि अन्य वडालाई बालमैत्री वडा घोषणा गरिने जानकारी दिइन् । ‘हामी अब अन्य वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारीमा छौं, सायद यो महिनाको अन्तिमदेखि अन्य वडालाई पनि क्रमशः बालमैत्री वडा घोषणा गर्नेछौं ।’

उनले बालमैत्री स्थानीय शासनले धरानमा निकै परिवर्तन भएको पनि बताइन् । बालबालिकाको अधिकार र हितका लागि स्कुल स्कुलमा सचेतना कार्यक्रम, बालविवाह, बालश्रम, लागूऔषध सचेतनासम्बन्धी कार्यक्रम अहिले धरानमा निकै फलदायी भएको उनले बताइन् । उनले विशेषतः बालविवाह न्यूनीकरणमा पछिल्लो समय बालमैत्री स्थानीय शासन कार्यक्रम प्रभावकारी हुँदै गएको बताइन् ।
उनले धरानभरिमा हाल नगर बाल सञ्जाल १, वडा बाल सञ्जाल २० र समुदाय बाल क्लब १०० र विद्यालय बाल क्लब ९४ रहेको बताइन् । बाल सञ्जाल समूह, वडामा वडास्तरीय बाल सञ्जाल समूह, प्रत्येक टोलमा बाल समूह गठन गरी समूहलाई सक्रिय बनाएसँगै वडावडामा बाल विवाहमा कमी आएको देखिएको बताइन् । ‘प्रत्येक वडामा गठन भएका बाल सञ्जालहरु निकै सक्रिय भएर लागेका छन्, यसले पनि बाल विवाहमा धेरै कमी आएको छ ।’ उनी थप्छिन् ।

पूर्व अध्यक्ष अप्सरा खत्रीले धरानमा बालमैत्री स्थानीय शासन आएपछि बालबालिकामा पनि परिवर्तन आएको बताइन् । उनले बाल सञ्जाल र क्लब सक्रिय भइदिँदा जनचेतनाका कार्यक्रम जस्तैः बालविवाह, बालहिंसा, बाल दुव्र्यवहार (शारीरिक, मानसिक दुव्र्यवहार, यौन दुव्र्यवहार, भावनात्मक दुव्र्यवहार, हेपाइ) लगायतका कुराका बारेमा बालबालिका आफैं जानकार हुँदै त्यसबाट आफू कसरी बच्ने र साथीसङ्गीलाई पनि कसरी बचाउने भन्नेबारेमा सबै सचेत बन्दै गएको बताइन् ।
उनले मुख्यतः बालविवाह न्यूनीकरणमा पनि यसले भूमिका खेलेको बताइन् । ‘अहिले साँच्चै भन्नुपर्दा बालविवाहमा भने कमी आएको छ, शिक्षा र चेतनाको कमीका कारण उमेर नपुग्दै सानै उमेरमा विवाह गर्ने प्रचलनलाई तोड्न बालमैत्री स्थानीय शासन कार्यक्रम निकै प्रभावकारी भएको मैले महसुस गरेकी छु,’ उनी थप्छिन् ।
उनले बाल क्लब सक्रिय बन्दा बालबालिकाका विषयमा आवाज पनि उठ्न थालेको र कुनै दर्बिलो र गम्भीर ‘केस’ वा समस्या आए सम्बन्धित निकायले सहजताका साथ गम्भीररुपमा लिन थालेको पनि बताइन् । ‘जस्तै भन्नुपर्दा प्रहरीकहाँ बालबालिकासम्बन्धी कुनै गम्भीर ‘केस’ आए उनीहरुले पनि गम्भीरताका साथ लिन थालेका छन्’, उनले भनिन्, ‘यो पनि त परिवर्तनकै कुरा हो नि ।’ अहिले बाल सञ्जाल र बाल क्लबका विद्यार्थी कसैलाई केही परे तुरून्त भेला हुने र समाधानको पाटो खोज्ने गरेको बताइन् । ‘बालबालिका वा महिला हिंसाका घटना भए बालबालिका आफैं झुम्म भेला भइहाल्छन्, यसले बालबालिका मात्रै होइन, समुदायस्तरमा पनि चेतना फैलिएको छ र बालहिंसा, दुव्र्यवहार गर्न नहुने रहेछ भन्ने चेत पलाएको छ ।’

उनले बालमैत्री स्थानीय शासन आएपछि बजेटमा प्राथमिकता दिँदै आएको र बैठक, गोष्ठी आदि पनि हुन थालेको बताइन् । यस्तै, सडक बालबालिकाको व्यवस्थापन पनि हुँदै आएको उनले बताइन् । ‘सानै उमेरमा बिहे गरेर बुहारी भएर विद्यालय, कलेज पुग्ने घटेको महसुस गरेकी छु’, उनी थप्छिन्, ‘अहिले बालमैत्री स्थानीय शासन घोषणा पूर्वको सञ्जालको काम, कर्तव्य अधिकारका बारेमा जनचेतना तथा सक्रियता र शिक्षाका कारण पनि सम्भव भएको हो ।’

धरान–१३ पहिलोपटक बालमैत्री घोषणा भएको वडा हो । बालमैत्री स्थानीय शासन आएर बाल क्लब र सञ्जालको सक्रियता बढ्दा समाजलाई नै फाइदा पुगेको बताउँदै वडाध्यक्ष नेत्र काप्mलेले बालमैत्री स्थानीय शासन हुँदा र नहुँदा आकाशपातालको फरक पाउँदा हामी जनप्रतिनिधि त खुशी भएको बताउँदै भने, ‘जेहोस् बालविवाहमा भने धेरै कमी आएको छ ।’ वडामा बालमैत्री स्थानीय शासन अवलम्बन भएपछि बालबालिकामा बढेको सक्रियता र चेतनास्तरका साथै बालबालिका चलायमान हुँदा बालविवाह रोकिएको उनको भनाइ छ । उनले अहिले बालबालिकाले आफ्नो अधिकार क्षेत्र बुझ्न थालेको साथै त्योसँगै अधिकांश शिक्षक साथै अन्यको मानसिकतामा हामीले विद्यार्थी कुट्यौं भने, दुव्र्यवहार गरयौं भने बाल सञ्जाल र बाल क्लब जाग्छन् भन्ने मानसिकता घुसेको पनि बताए ।
बालमैत्री स्थानीय शासनका न्युनतम सूचक (जस्तैः बाल संरक्षण, बाल बचाउ, बाल सहभागिता बाल विकास, संस्थागत विकास) पार गर्दै बालमैत्री वडा घोषणा हुने गरेको छ । हाल बालमैत्री भएका वडामा वडागतरूपमा १५ प्रतिशत बजेट जान्छ भने बालबालिकाका लागि बाल उद्यान निर्माण, खेलकुदका पूर्वाधार निर्माणका लागि थप बजेट विनियोजन हुने गरेको छ ।
बालविवाहमा कमी आएको जस्तो देखिएपनि अझै कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान धरानमा अन्य वडालाई बालमैत्री घोषणा गर्न जरुरी छ । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने गरिएपनि धरानका कतिपय वडामा शिक्षा र चेतनाको कमीका कारण विवाह सानै उमेरमा हुने प्रचलन छँदैछ, त्यो रोक्न थप सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुतर्फ पनि स्थानीय सरकारले ध्यान दिनुपर्छ ।

