Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विवाहको सिजनमा पनि सुनचाँदीको कारोबार सुस्तायो

हाम्रो कोशी आवाज
मंसिर ११ २०७८, शनिबार
विवाहको सिजनमा पनि सुनचाँदीको कारोबार सुस्तायो

धरानः मंसिर महिनालाई विवाहको महिना पनि भनिन्छ । यो महिनामा धेरै सम्बन्धहरु जोडिएका हुन्छन् । विवाहको बेला धेरैले सुनचाँदीका गहना बनाउने गर्दछन् । जसले गर्दा यो महिना सुनचाँदीको कारोबार पनि बढ्ने गर्छ ।
तर, यस वर्षको मंसिरमा भने त्यस्तो नभएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । मंसिरमा धेरै विवाहको लगन भए पनि यसपालि भने यो महिना सुनचाँदीको कारोबार नबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।
उनले भने, ‘अघिल्ला वर्षहरुको मंसिर महिनामा सुचाँदीको कारोबारमा वृद्धि हुन्थ्यो । तर, यस वर्ष सुनचाँदीको कारोबार सुस्ताएको छ । सुनको मूल्य तोलामै लाखौँ रुपैयाँ पुगेकोले पनि कारोबार हुन नसकेको हुनसक्छ ।’
गत महिनाकै हाराहारीमा अहिले पनि कारोबार भइरहेको उनले बताए । शाक्यले भने, ‘अहिले दैनिक ३० किलो सुनको कारोबार भइरहेको छ । कात्तिक महिनामा पनि यहि रेसियोमा कारोबार भएको थियो ।’
त्यस्तै, पूर्वअध्यक्ष शाक्यले चाँदीको कारोबार पनि घटेको जानकारी दिए । उनले भने, ‘सुन भन्दा पनि चाँदीको कारोबार झनै धेरै सुस्ताएको छ । गत महिना दैनिक २ हजार किलो कारोबार भइरहेको चाँदी अहिले घटेर दैनिक चार सयमा सिमित भएको छ ।’
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ४ सय रहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्यप्रतितोला १२२५रहेको महासंघले जनाएको छ ।
यता नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै चाँदी आयातमा झन कडाइ गर्ने नीति सार्वजनिक गरेको छ । विदेशी मुद्रा संन्चिती कम हुँदै गएपछि राष्ट्र बैंकले चाँदी आयातमा कडाई गरेको हो ।
चालु आर्थिक वर्षको ४ महिनामा १ लाख २९ हजार ४१० केजी चाँदी आयात भएको छ । गत वर्षको सोही अवधिमा ७ हजार ५०० केजी चाँदी आयात भएको थियो । नेपाली बजारमा चाँदीको मूल्य सस्तो हुँदा भारततर्फ तस्करी हुने भएकाले गत असोज १९ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रति १० ग्राम चाँदीको भन्सार महसुलमा २२ रुपैयाँ बढाएर १०७ रुपैयाँ पुर्याइएको थियो ।

प्रकाशित मिति: मंसिर ११ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend