धरानः नेकपा माओवादीसम्बद्ध सुनसरी-काठमाडौं सम्पर्क समन्वय समितिको ८ औं अधिवेशन शनिबार काठमाण्डौंस्थित बाघबजारको होटल हार्दिकमा ३७ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।
धरान-१२ निवासी डिवी ल्वागुनको अध्यक्षतामा गठन भएको ३७ सदस्यीय कार्य समितिमा ३ उपाध्यक्ष, १ सचिव, १ सहसचिव १ कोषाध्यक्ष र ३० जना सदस्य रहेका छन् ।
समितिका अध्यक्ष गणेशप्रसाद आचार्यको अध्यक्षतामा भएको सो अधिवेशनमा ३२५ जना सगठित सदस्यमध्ये १६७ जनाको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यकमको प्रमुख अतिथि सम्पर्क समन्वय विशेष प्रदेश इञ्चार्ज डिलाराम आचार्यले अधिवेशनको उद्घाटन गर्दै हाल नेकपा माओवादीमा ८ लाख जनताले सक्रिय सदस्यता लिएको जानकारी दिँदै अब पार्टी ती ८ लाख जनतालाई उचित प्रशिक्षण दिएर निष्ठावान कम्युनिष्ट बनाउने चुनौति थपिएको बताए ।
उनले एमालेसँगको एकता सचेत प्रयास रहेको बताउँदै पार्टी विभाजन भने अन्तर्राष्टिय कारण भएको खुलासा गरे । ‘कम्युनिष्ट पार्टी बनाउन जति गाह्रो काम छ, त्यसलाई भत्काउन राष्ट्रिय–अन्तर्राष्टिय शक्तिहरुले पैसा र शक्तिको खोला बगाउने गरेका छन् ।’ उनले भने ।
नेपाल पत्रकार महासंघ काठमाण्डौ जिल्लाका सभापति सूर्य सुवेदीले यसपटक उपत्यत्काको तीनै जिल्लामा माओवादीसम्बद्ध पत्रकारहरुले विजय हासिल गरेको बताउँदै लोकतन्त्र बचाउन पनि कम्युनिष्टहरु एक हुन आवश्यक रहेको बताए । कार्यक्रममा धरानका अग्रज पत्रकार भवानी बराल, बाग्मती प्रदेशका महिला नेतृ सावित्री आचार्यले पनि बोलेका थिए । तीन कार्यकाल अध्यक्ष रहेका धरान-१० निवासी गणेशप्रसाद आचार्यलाई भने यसपटक पाटीले सुनसरी जिल्ला समन्वय समितिका इञ्चार्जको जिम्मेवारी दिएको छ ।

