भोजपुरः भोजपुरमा बनिनसकेको पुल ढलेको छ । भोजपुरस्थित कावा खोलामा बनेको पुल ढलेको हो । हतुवागढी गाउँपालिका–२ रानीवास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा पुल बन्दै थियो ।
५ करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको पक्की पुल शनिबार ढलेको हो । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताए पनि पुल निर्माणको क्रममा ढलेको छ ।
सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको तयारी थालिएको थियो । यो भोजपुरलाई तराई जिल्लासँग जोड्ने सबैभन्दा छोटो सडक मार्ग पनि हो ।
यहाँ प्रदेश सरकारको पूर्ण लागतमा आठवटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुईओटा गरी १० ओटा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

