धरानः धरान-१६ जोरसखुवास्थित मन्टेश्वरी किन्डर गार्टेनमा क्षयरोग सचेतना कार्यक्रम आयोजना भएको छ ।
कक्षा-१ देखि कक्षा-४ सम्मका विद्यार्थीका लागि यस्तो कार्यक्रम आयोजना भएको हो । नेपाल क्षयरोग निवारण संस्था सुनसरीको आयोजनामा कार्यक्रम आयोजना भएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एशोसिएट प्रोफेसर डा. दीपक यादवले क्षयरोगबारे विद्यार्थीलाई बुझाएका थिए । उनले क्षयरोग के हो, यो कसरी सर्छ, लक्षणहरु के के हुन् आदिबारे विद्यार्थीलाई सचेत गराएका थिए । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुनाले यसबाट सचेत हुनुपर्ने उनले बताए । उनले जङ्क फुड सेवन गर्ने बालबालिका, खाना खान नमान्ने बालबालिका, रोगसँग लड्ने क्षमता कम भएका बालबालिका आदिमा क्षयरोग लाग्ने बताए ।
खोकी लाग्नु, बेलुकापख ज्वरो आउनु, छाती दुख्नु, खाना अरुची हुनु, खकारमा रगत देखिनु आदि यसको लक्षण भएको उनले जानकारी दिए । उनले क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्णरूपमा निको हुने रोग भएको उनले बताए । उनले नेपाल सरकारले क्षयरोगविरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको उनले जानकारी दिए ।
बालबालिकालाई स्वास्थ्य चेतना जगाउन यस्तो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष एवम् किन्डर गार्टेनका डाइरेक्टर गौरवमान श्रेष्ठले जानकारी दिए । यस्तो सचेतनामूलक कार्यक्रमले विद्यार्थीको लागि फलदायी भएको र विद्यार्थीहरुले पनि धेरै जानकारी मिलेको प्रिन्सिपल सुलेखा जोशीले जानकारी दिइन् ।तस्वीरहरुः हाम्रो कोशी आवाज






