Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मदन भण्डारी राजमार्गको काम

हाम्रो कोशी आवाज
मंसिर १६ २०७८, बिहिबार
धरानमा मदन भण्डारी राजमार्गको काम

धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा मदन भण्डारी राजमार्ग अन्तर्गत धरान खण्डमा पर्ने राजमार्गको स्थलगत रुपमा निरीक्षण गरिएको छ ।
मदन भण्डारी राजमार्गको सर्दु खोलादेखि पूर्व झापाको शान्तिनगरसम्मको प्याकेजमा अहिले काम भइरहेको छ । राजमार्गअन्तर्गत धरान खण्डमा कहाँ कहाँ समस्या छ ? एलाइमेन्टमा के के समस्या छन् ? एलाइमेन्टमा भएका दुविधाहरुलाई कसरी सबै भन्दा राम्रो विकल्पबाट समाधान गर्न सकिन्छ ? भन्ने उद्देश्यले मेयर राईको नेतृत्वमा आयोजना तथा ठेकेदार कम्पनीका इञ्जियरहरुसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको हो ।
धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार सर्दु खोलाको पुल र पूर्वबाट आउने राजमार्गको एलाइमेन्टमा करिब ५ सय मिटर जति तलमाथि परेको छ । त्यसकारण त्यो एरियामा त्यही पुलबाट लाने कि अथवा सिधा गरेर लाँदाखेरी अर्को पुल बनाउने कि भन्ने विषयमा पनि अनुगमनको क्रममा छलफल भएको जानकारी दिए ।
उनले त्यस क्षेत्रका स्थानीय जनताहरुले दिएको वैकल्पिक विषयमा पनि प्राविधिक रुपबाट के गर्दा उपयुक्त हुन्छ ? भनेर पनि छलफल भएको बताए । ‘सडक विभागले तोकेको एलाइमेन्ट नै हुन्छ । एलाइमेन्ट परिवर्तन गर्दा गाह्रो हुन्छ । कतैकतै विवाद भयो त्यहाँ बनाउनै सकिएन भने त्यो भिन्दै कुरो हो । त्यस्तो समस्या कतै पनि देखिएको छैन ।’ उनले भने, ‘एलाइमेन्ट परिवर्तन गर्ने बित्तिकै त्यसको आइईई गराउनुपरयो । फेरि सरकारबाट स्वीकृति गराउनुपर्यो । डेढ वर्षमा सम्पन्न गराउने कन्ट्रयाक प्रोजेक्टलाई एक, डेढ वर्ष फेरी लम्बयाउनुपर्ने हुन्छ । त्यसकारण एलाइमेन्ट परिवर्तन गर्नुभन्दा नगर्नु नै उपयुक्त हुन्छ । सर्दु खोलामा जुन पुल बनेको छ । त्यहाँ बनेको पुल र आइरहेको बाटोको अलिकति एलाइन्मेन्ट नमिलेको हुनाले सिधा गर्नलाई नयाँ पुल बनाउने कि अथवा त्यहाँनिर बाटो घुमाएर पुलसम्म ल्याउने भन्ने विषयमा एउटा निर्णय गर्नुपर्ने अवस्था छ । अन्य ठाउँमा एलाइन्मेन्ट परिवर्तन गर्नुपर्ने अवस्था छैन ।’
बीपी प्रतिष्ठानको दक्षिणपट्टिको भागबाट जाने बाटोमा जंगल पर्छ । त्यहाँ भएका रुखहरुमा सडक विभागद्वारा टाँचा लगाइएको छ । अनुगमनको क्रममा ठाउँठाउँमा कल्भर्ट निर्माण गरिरहेको पनि भेटिएको थियो । मेयर राईले बनाउँदै गरेको कल्भर्टहरुको क्षमता र संरचनाको बारेमा सोधपुछ पनि गरेका थिए । दुवैतर्फ ड्रेन बन्ने नबन्ने अथवा कति चौडाईको हो बाटो ? र कतिमा कालोपत्रे हुन्छ ? भन्ने बारेमा पनि जानकारी लिएका थिए । आयोजना तथा सम्बन्धित कर्मचारीहरुसँग पहिलो पटक विस्तृत रुपमा भेटेर नै छलफल गर्ने र संयुक्तरुपमा अनुगमन गर्ने पहिलो काम भएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend