धरानः लागूऔषध मुद्दा र चोरी मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका सुनसरी धरान उपमहानगरपालिका ७ का ४१ वर्षीय नौसाद सिद्दिकी र चोरी मुद्दाका मोरङ कटहरी गाउँपालिका १ का २३ वर्षीय सुरज कामत रहेका छन् ।
पक्राउ परेका दुवैजनालाई सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट मिति २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष १ महिना २४ दिन कैद र १ लाख रुपैयाँ जरिवाना भई लगत नम्बरको ७२३२ मा कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका सिद्दिकी पक्राउ परेपछि कारागार चलान भएका हुन् ।
यस्तै, चोरी मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना भई लगत नं. ५८१ मा कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका कामतलाई पनि पक्राउ गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालतमा दाखिला गरिएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।