धरानः धरान-१ स्थित धरान मन्टेश्वरीमा दीक्षान्त समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा-५ का १३ जना र कक्षा युकेजी २९ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख गोविन्दराज आचार्य, मन्टेश्वरीका डाइरेक्टर दीपक अग्रवाल, प्रिन्सिपल मैया अग्रवाल (राई), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एशोसियट प्रोफेसर डा. रितेष चौधरीलगायतले उनीहरुलाई दीक्षित गर्दै प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नेपाल मन्टेश्वरी एशोसिएसन धरानका राजेन्द्र गिरी, धरान मन्टेश्वरीका सल्लाहकार गोपाल राईलगायतको उपस्थिति थियो ।
डाइरेक्टर अग्रवालले यो १४ औं दीक्षान्त समारोह भएको बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय धरानका प्रमख आचार्यले विद्यार्थीले कार्यक्रममा देखाएको प्रतिभा तारिफयोग्य र लोभलाग्दो रहेको बताए । ‘विगत एक महिनादेखि धरानमा कार्यरत् छु’, उनले भने, ‘मेरो नानी धरानमा ल्याएँ, मटेश्वरी खोज्दै जाँदा धरान मन्टेश्वरी नै उत्कृष्ट लाग्यो, आज मलाई गर्व लागेको छ, पक्कै पनि अभिभावकलाई बच्चाहरुको शिक्षाबारे चिन्ता हुन्छ, कहाँ गुणस्तरीय शिक्षा दिन्छ होला आदि इत्यादि तर यहाँको वेल म्यानेजले गर्दा मलाई गर्व लागेको छ, त्यो ‘सलोट’ धरान मन्टेश्वरी एकेडेमीलाई जान्छ ।’ उनले आगामी दिनमा धरान मन्टेश्वरीले दृढ लक्ष्य, सोंच र उद्देश्य पूरा होस् भन्ने कामना पनि गरे ।
कार्यक्रममा बोल्दै डाइरेक्टर अग्रवालले कक्षा–५ मा पहिलोपटक विद्यार्थी दीक्षित भएको बताए । ‘२०६२ सालमा यो मन्टेश्वरी स्थापना गर्दा पूर्वाञ्चलमा मन्टेश्वरी थिएन तर पनि हामीले स्थापना गरेर अघि बढायौं, त्यस्तै, कक्षा–५ मा पनि पूर्वमै पहिलोपटक विद्यार्थी दीक्षित गरेका छौं, यो नेपालमै पहिलोपटक हो जस्तो लाग्छ ।’
‘उच्च शिक्षा, उच्च संस्कार’ भन्ने मूल मन्त्रलाई अङ्गाल्दै आफूहरु अघि बढेको बताउँदै उनले २१ औं शताब्दीमा शैक्षिक जनशक्ति उत्पादनमा आफूहरु लागेको र आधुनिक प्रयोग, नयाँ सोंचले विद्यालयलाई अगाडि बढाइरहेको बताए । मन्टेश्वरीमा अध्यापनरत् मिहिनेती शिक्षक, कर्मचारी साथै हौसला, सल्लाह, सुझाव दिनुहुने अभिभावककै कारण मन्टेश्वरीले फड्को मारेको बताए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीतमा नृत्य देखाएर अभिभावकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
२०६२ सालमा स्थापना भएको सो मन्टेश्वरी धरानको पुरानो मन्टेश्वरी हो । मन्टेश्वरीले मन्टेश्वरी पद्दतिमा जोड दिँदै पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको प्रिन्सिपल अग्रवाल (राई) ले बताइन् । उनले बालबालिकालाई बढीजसो खेल्दै, व्यवहारिक र आत्मनिर्भर बनाउन लागिपरेको बताइन् । कक्षा प्ले ग्रुपदेखि कक्षा–५ सम्म अध्ययन अध्यापन हुने मन्टेश्वरीमा ६ वर्षभन्दामुनिका बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर अध्ययन गराउँदै आएको प्रिन्सिपल अग्रवालले बताइन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज






































