संखुवासभाः अपर अरुण जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सार्वजनिक सुनुवाई मंसिर २४ गतेदेखि हुने भएको छ।
१०६१ मेगावाट क्षमताको उक्त आयोजना संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुँदैछ। उक्त गाउँपालिकाको दुई वटा वडामा रहेको २५ घरपरिवार मात्रै आयोजनाका कारण विस्थापित हुने छन्।
मंसिर २४ गते देखि २६ गते सम्म प्रभावित वडाका स्थानीयका बीच प्रतिवेदनको सार्वजनिक सुनुवाई हुने आयोजनाले जनाएको छ।
विश्व बैंकको सहुलियत पूर्ण ऋणमा निर्माण हुन लागेको आयोजना विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीले प्रवर्द्धन गरिरहेको छ।
१०६१ मेगावाटको आयोजना बनाउँदा जम्मा २० देखि २५ वटा घरपरिवार मात्रै विस्थापित हुने भएपछि यो आयोजना अघि बढाउन विश्व बैंक निकै उत्साही देखिएको छ।
गत असोजमा विश्व बैंकका उच्च प्रतिनिधि आएर आयोजनाको स्थलगत अवलोकन गरेका फर्केका थिए। विश्व बैंककै गाइडलाइन अनुसार आयोजनाको पुनः अध्ययन र डिजाइनको काम भइरहेको छ।