सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले लागूऔषधसहित युवा पक्राउ गरेको छ ।
सवारी चेकजाँच गर्ने क्रममा इनरुवा–३ महेन्द्रचौकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सरोज मन्सुरीले चलाएको को–५–प ३८१८ नम्बरको मोटरसाइकलमा पछाडि बस्ने हारुण मन्सुरीबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी–४ बाट लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्नलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले टिका राई र सोही स्थान बस्ने वर्ष १९ को धनकुमार राईलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुको शरीर र कोठा समेत चेकजाँच गर्ने क्रममा टिकाको कोठाबाट प्लाष्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा अवैध लागूऔषध डाइजापेम १० (दश) एम्पुल, लुपिजेसिक १० (दश) एम्पुल, फेनरगन १० (दश) एम्पुल र एभिल १० (दश) एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामानहरुसहित निजहरुलाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम सुनसरी जिल्ला अदालतबाट ७ दिनको को म्याद थप गरी आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।