धरानः धरान-२० मा बालविवाह बढ्न थालेपछि नाटक देखाएर सचेत गरिएको छ ।
धरान-२० स्थित भालढुङ्गा माविमा बाल विवाहविरुद्धको सडक नाटक सम्पन्न भएको हो । सिएसडिसीको आयोजना, प्लान इन्टरनेशनल र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा सहभागीहरुले नाटक प्रर्दशन गरेका हुन् । नाटक मा १५ जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बाल विवाहको अन्त्य गर्नका लागि त्यसले पार्ने असरहरुको विषयलाई समेटेर नाटक प्रदर्शन गरिएको प्लानकी पुष्पा कटुवालले जानकारी दिइन् ।
बाल विवाहलाई कसरी हातेमाले गरेर अन्त्य गर्न सकिन्छ भन्नेबारे विशेषतः जोड दिएको सहभागी सविता पुरीले जानकारी दिइन् । उनका अनुसार नाटकमा बाल विवाहका असरहरु, प्रजनन स्वास्थ्य र सामाजिक सञ्जालको दुरुपयोग आदि विषय वस्तुमा तयार गरिएको थियो ।
मागी विवाह कम मात्रामै हुन्छ तर भागी विवाह बढ्दो रूपमा रहेको उनले बताइन् । बालविवाह अन्त्य गर्नका लागि विद्यालयबाट विभिन्न कार्यक्रमहरु आयोजना गर्ने र किशोरकिशोरीहरुलाई पुनः विद्यालय आउन हौसला प्रदान गर्दै आएको भालढुङ्गा माविका प्रधानाध्यापक बताउँछन् ।
कार्यक्रम हेर्ने सहभागी किशोरीहरुले यस्तै जनचेतनामूलक कार्यक्रमले विद्यार्थीमा जनचेतना फैलिने र सानो उमेरमा विवाह गर्न हुँदैन र केही गर्नुपर्छ भन्ने भावनाको विकास हुने र कसैले बालविवाह गरे नजिकैको प्रहरीलाई खबर गर्ने समेत बताएका थिए ।
कार्यक्रममा बाल विवाहले निम्त्याउने सक्ने क्षति सँगसँगै प्रजनन स्वास्थ्यको विषयमा किशोरावस्थामा हुने विभिन्न परिवर्तनका बारेमा जानकारी दिइएको थियो । बालविवाह २० वर्ष पारी भन्ने भनाइलाई शब्दमा मात्र सीमित नराखी त्यसलाई व्यवहारमा उतार्न जोड दिइएको पुष्पाले जानकारी दिइन् । किशोरकिशोरीलाई हातमा घर व्यवहार होइन, कलम दिनुपर्छ भन्ने सोचको विकास गर्नुपर्ने सहजकर्ता सुजाताले बताइन् ।
