धरानः साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपीमध्येका धरानका एक व्यक्ति धरौटीमा छुटेका छन् ।
धरान-३ का ५७ वर्षीय मोहनकुमार अग्रवाल धरौटीमा छुटेका हुन् । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमासमेत आरोपी अग्रवाल जिल्ला अदालत मोरङमा हाजिर भएलगत्तै धरौटीमा छुटेका हुन् ।
सोमबार आफ्ना कानुन व्यवसायीमार्फत् अदालत उपस्थित भएकै दिन थुनछेक बहसपछि उनी छुटेका हुन् । सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुणमणि उप्रेती गोरेले आयात गर्ने सुनको लगानीकर्ता अग्रवाल रहेको सरकार पक्षको दाबी थियो । २०७४ साल माघ १९ गते शाक्यको हत्या भएलगत्तै अग्रवाल फरार थिए ।
एमके मामा भनिने अग्रवाल जिल्ला अदालत मोरङमा हाजिर भएलगत्तै धरौटीमा छुटेका हुन् ।
सोमबार हाजिर भएका अग्रवाललाई न्यायाधीश भरत लम्सालको इजलासले ३ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी कानुन व्यवसायीको साथ लागेर अदालत उपस्थित भएका थिए ।
वादी नेपाल सरकारका पक्षबाट जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्लेले बहस गरेका थिए । प्रतिवादी अग्रवालका पक्षमा वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ता शान्तिराम भण्डारीले बहस गरे । जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि मुद्दा चलिरहेको बताए । ‘अदालतले अग्रवाललाई विभागमा उपस्थित हुन पनि आदेश दिएको छ’, श्रेस्तेदार राणाले भने।
जिल्ला अदालत मोरङले सुन तस्करी प्रकरणसँगै जोडिएको सनम शाक्य हत्याको चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको थियो ।
तस्करीको सुन हराएपछि गोरेको समूहले भरिया सनम शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लगाएर यातना दिएर हत्या गरेको थियो । हत्याको भोलिपल्ट विराटनगरबाट उनको शव बरामद भएको थियो ।


