धरानः बाह्रदशी गाउँपालिका-४ का कृषकलाई अब सिंचाईको समस्या हल भएको छ ।
केही वर्षअघिसम्म सिंचाईको अभावका कारण खेतीयोग्य जमिन हिँउदको समयमा बाँझै रहने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष समिम मियाँले कृषिलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्दै सिंचाईका लागि मोटर, बोरिङ कृषकलाई अनुदानमा उपलब्ध गराउन थालेसँगै सिंचाईको समस्या हल भएको हो ।
अहिले बाह्रदशी ४ का कृषकका लागि १२० वटा विभिन्न ठाउँमा ४ इञ्चको बोरिङ गाडिएको छ भने २५० थान मोटर बितरण गरिएको छ । १५० वटा स्प्रे ट्याङ्की वितरण गरिएको छ भने कृषकका लागि २० थान थ्रेसर मेसिन समेत वितरण गरिएको वडाध्यक्ष मियाँले बताए । केही सामग्री शत प्रतिशत अनुदानमा रहेका छन् भने केही केही सामग्री कृषकको समेत सहभागितामा वितरण गरिएको हो ।
कृषकका लागि ३० लाख रुपैयाँ बराबरको सिंचाईका विभिन्न सामग्री वितरण गरिएको छ भने २० लाख रुपैयाँ भन्दा बढी सामग्री खरिदमा कृषकको समेत सहभागितामा रहेको छ । मङ्गलबार मात्रै वडा कार्यालयले ३८ थान २–३ हर्ज पावरको मोटर वितरण गरेको छ भने १२ थान बोरिङ वितरण गरेको छ । सबै कृषकलाई सहजरुपमा सिंचाइको पहुँच पुरयाउन वडा कार्यालयले बोरिङ शत प्रतिशत अनुदानमा प्रदान गरेको हो भने मोटर ५० प्रतिशत अनुदानमा कृषकका लागि वितरण गरिएको वडाध्यक्ष मियाँले बताए । पहिलो वर्षदेखि नै कृषिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट बनाएको र कृषकको जीवनस्तर माथि उठाउन पहल गरेको वडाध्यक्ष मियाँको भनाइ छ ।
बाह्रदशी गाउँपालिका तरकारी खेतीका लागि जिल्लामै परिचित छ । त्यसमा पनि बाह्रदशी गाउँपालिका वडा नम्वर ४ का अधिकांश कृषक तरकारी खेतीमा निर्भर छन् । तर, सिंचाइको समस्याले केही वर्ष अघिसम्म यहाँका कृषक समस्यामा थिए । तर, वडा कार्यालयले अहिले प्राय सबै कृषकलाई सहज हुनेगरी मोटर र बोरिङको व्यवस्थापन गरेपछि यहाँका कृषक हर्षित देखिएका छन् ।