बिर्तामोडः मेची राजमार्गअन्तर्गत इलामको सूर्योदय नगरपालिका-हर्कटे बजार नजिकैको सुकेपोखरीमा बाेलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
मे१ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट तल खस्दा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँका ४० वर्षीय भरत घिमिरेको मृत्यु भएको हो। दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।
दुर्घटनामा परी २ वर्षीया नावालिका सहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण अनियन्त्रित भई सडकबाट एकसय मिटर तल झरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४० वर्षीया पवित्रा तिम्सिना, ३१ वर्षीया यशोदा घिमिरे, ३१ वर्षीया निर्मला तिम्सिना, ३५ वर्षीय पदम तिम्सिना, ४ वर्षीय प्रकृत तिम्सिना, ९ वर्षीय भर्सन घिमिरे र २ वर्षीया बालिका प्रभा घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सवारी चालक माई जोगमाई ४ का ३६ वर्षीय भीम खवास समेत घाइते छन् । घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको समेत बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रोङ गाउँपालिकाको कुटिडाँडाबाट इलाम आउँदै गरेको मे१ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट करिव सय मिटर तल झर्दा दुर्घटना भएको हो। सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।