विराटनगरः विराटनगरमा महिलाको ‘चेन्जिङरुम’ मा सिसी क्यामेरा जडान गरेको आरोपमा टेलर्स सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँ रहेको प्रहरीले जनाएको छ । विराटनगरको महावीर रोडमा रहेको सो पसलमा महिलाले कपडा फेर्ने ‘चेञ्जिङ रुममा’ सिसी क्यामेरा जडान गरेको पाइएपछि महिलाले नै प्रहरीमा उजुरी दिएकी थिइन् ।
टेलर्समा सिलाइएका कपडा महिलाहरुले लगाएर चेकजाँच गर्ने गोप्य कोठा (चेन्जिङरुम) मा सिसी क्यामेर जडान गरेर टेलर्सको कम्प्युटरबाट हेर्ने गरेको आरोप उनलाई लागेको छ । उनलाई ‘ब्ल्याकमेलिङ’ समेत गर्ने गरेको आरोप लागेको छ ।
एक महिलाले कपडा ‘चेञ्ज’ गर्ने क्रममा टेलर्सको ‘चेन्जिङरुम’ मा सिसी क्यामेरा जडान गरेको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । उनले चेन्जिङरुममा सिसी क्यामेरा अन देखिएपछि तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । महिलाकै उजुरीको आधारमा मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । प्रहरीले सिसी क्यामेरा र सम्पूर्ण सामानहरु नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले जानकारी दिए ।
