धरानः वर्षेनी सेउती खोलाबाट बाढीले कटान भइरहने धरान–५ सुन्दरवस्तीको लागि तीनसय थान तारजाली ल्याइएको छ ।
सुन्दर बस्ती तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ शेर्पाले हरेक वर्ष बाढीले सताउने सो वस्तीका लागि तीन सय थान जाली ल्याइएको जानकारी दिए ।
अध्यक्ष शेर्पाले वस्तीको लागि जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन विराटनगरमा माग गरिएको जानकारी दिए । भोलिदेखि तारजालीमा ढुंगा हाल्ने थालिने उनले जानकारी दिए ।
सुन्दर वस्तीलाई पूर्वबाट अँधेरी खोलाले कटान गरिरहेको छ भने पश्चिमबाट सेउती खोलाले कटान गरिरहेको छ । बर्खामा यसरी कटान गर्दा कयौं घरपरिवार विस्थापित हुँदै आएका छन् । हाल प्राप्त भएको सो जाली पश्चिमपट्टि सेउती खोलामा लगाउने तयारी भएको छ । सुन्दर बस्तीको बाटोमुनी रहेका १३५ घरलाई सो जालीले तत्काल केही राहत मिल्ने उनको भनाइ छ ।
चालु आवमा धरान उपमहानगरपालिकाबाट करिडोरको लागि ३० लाख रुपैयाँ सो क्षेत्रको लागि विनियोजन भएको पनि उनले जानकारी दिए । तर विनियोजित रकम तत्काल कार्यान्वयनमा आउन नसकेको उनले गुनासो पोखे ।
