बिर्तामोडः सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका विभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्न लागेको हो । विशेषगरी पुस र माघ महिनामा बिहान बेलुका बाक्लो हुस्से लाग्ने र सवारी सञ्चालनमा कठिनाइ हुने हुँदा सडक सुशासन र दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले बताए ।
१ नम्वर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम १ नम्बर प्रदेशभरी नै सञ्चालन भइरहेको र झापामा पनि सोही ट्राफिक सचेतना अभियान गर्न लागिएको प्रहरी निरीक्षक चापागाईले बर्ता ।
चापागाईका अनुसार ट्राफिक सप्ताहको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले गर्ने भएका छन् । बिर्तामोडमा आयोजित समारोहको उद्घाटन अघि सचेतना रयालीसहित प्रभातफेरि गरिने छ भने सडक सुशासन सम्बन्धी अभिमुखीकरणसमेत हुनेछ ।
कार्यक्रममा जिल्लाभर रहेका विभिन्न सामाजिक संघ संस्था, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवस्था कार्यालय मेची, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजीवी सहभागी रहेछन् ।
कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका युनिटले प्रमुख चौकहरुमा ५–५ जना विद्यार्थी, २–२ जना स्काउट स्वयमसेवक तथा २–२ जना ट्राफिक प्रहरी बसेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने र उनीहरुलाई सम्झाइबुझाइ गर्ने, स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासँग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङअस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, निर्माण सामग्री हटाइने छ ।
स्मूल तथा कलेजका बसको समेत अनुगमन, भाडाका सवारीको अनुगमन तथा कागजात,सवारीको अवस्था,गति, पोशाकको प्रयोग, क्षमता तथा ओभरट्याक सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिने छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र सवारीलाई कानुनी कारवाही गर्दै गल्ती नदोहोरयाउन सुझाव दिइनेछ । सार्वजनिक यात्रु बसमा सवारी साधनहरुमा डस्विन, ज्येष्ठ नागरिक, महिला तथा अशक्तता भएकाहरुलाई आरक्षित सिटको प्रयोग भए नभएको समेत ट्राफिक सप्ताह अवधिभरि हेर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक चापागाईले बताए ।