धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका कक्षा–११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई कक्षा–१२ का विद्यार्थीहरुलेले शुक्रबार स्वागत गरेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झा, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष हरि कार्की, शिक्षक अभिभावक सङ्घका निवर्तमान अध्यक्ष पदमप्रसाद चौलागाई, विद्यालय व्यवस्थापन समिति सदस्य बिवेक राई लगायतले कक्षा–११ का विद्यार्थीहरुलाई अविर र खदा लगाएर स्वागत गरे ।
कार्यक्रमका प्रमुख अतिथी मेयर राईले पब्लिक हाई स्कुल प्रदेश १ कै नमूना विद्यालयको रुपमा अघि बढ्दै गइरहेको बताउँदै किताबी ज्ञानमा मात्र सीमित नभई २१ औं शताब्दी सुहाउँदो ढङ्गले बाहिरी ज्ञान हासिल गर्दै रुचिअनुसारको अतिरिक्त क्रियाकलापमा ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरे ।
विशेष अतिथी धरान उपमहानगरपालिकाका शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख रत्न कटवालले आफ्नो उज्ज्वल भविष्य निर्माण गर्नका लागि विद्यार्थीहरुले अहिलेदेखि नै ध्यान दिएर अध्ययनलाई जोड दिनुपर्ने बताए । विभिन्न ठाउँबाट उज्ज्वल भविष्य निर्माण गर्न सुनौलो सपना बोकेर पब्लिक हाइस्कुलमा आएका विद्यार्थीहरुले सपना साकार पार्न गम्भीर भएर अध्ययनमा जोड दिनुपर्नेमा विद्यालयका प्रधानाध्यापक झाले जोड दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्की, विद्यालयका सह–प्रधानाध्यापक लेखनाथ भट्टराई, विद्यालयका इन्चार्ज वीरेन्द्रबहादुर साह, शिक्षक दुर्गाप्रसाद सापकोटा लगायतले मन्तब्य राखेका थिए । कक्षा–१२ का विद्यार्थी प्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा–१२ कि छात्रा मित्रता श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् ।
कार्यक्रमको सञ्चालन विद्यार्थीहरु सविता पुरी, दुर्गा श्रेष्ठ र प्रकाश राईले गरे । औपचारिक कार्यक्रम सम्पन्न भएपछि विद्यार्थीहरुले निक्कै आकर्षक गीत र नृत्यहरु प्रस्तुत गरे । वि.सं.२००३ सालमा स्थापना भएको पब्लिक हाइस्कुलमा हाल नर्सरीदेखि कक्षा–१० सम्म १३ सय भन्दा बढी, कक्षा–११ मा ८ सय ९० र कक्षा–१२ मा ६ सय ३४ गरी हाल २ हजार ८ सयभन्दा विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक झाले जानकारी दिए ।
प्रदेश नम्बर १ कै नमूना विद्यालयको रुपमा चिनिएको पब्लिकमा नर्सरीदेखि कक्षा–६ सम्म अङ्ग्रेजी माध्यममा मात्रै पढाइ हुने र कक्षा–७ देखि १० सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ हुँदै आएको प्रधानाध्यापक झा बताउँछन् । तस्वीरहरुः तिर्थ कार्की








