Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी नदीमा जेटबोटले पनि तान्यो पर्यटक

हाम्रो कोशी आवाज
पुष ७ २०७८, बुधबार
कोशी नदीमा जेटबोटले पनि तान्यो पर्यटक

धरानः जेटबाट उत्रिएकी कविता निकै खुशी थिइन् । उनी पहिलोपटक पानी जहाज चढेकी हुन् । उनी पानी जहाज चढ्नकै लागि भनेर मोरङको सलकपुरबाट आएकी हुन् ।
घुम्न आउने पर्यटकलाइ मात्र होइन सामान ढुवानी गर्न र भोजपुर सम्मको यात्रा गर्नेलाई पनि अहिले धेरै सहज भएको छ । सप्तकोशीमा व्यवसायिकरुपमा जेट बोट सञ्चालन हुन थालेपछि यात्रा सहज भएको छ । चतरा घुम्न आउने, जेट बोट चाढेर दङ्ग छन् ।
बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेटबोट सञ्चालनमा ल्याएको छ ।
भोजपुर मात्रै होइन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि अब २ घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका छन् । भोजपुर जाने यात्रुहरु १ सय देखि २ सय जनासम्म दैनिक रुपमा हुनेगरेको बोट चालक मिनकुमार विष्ट बताउँछन् ।
नजिकै रहेको धार्मिक स्थल बराहक्षेत्र धाम दर्शन गर्ने दर्शनार्थीदेखि छुट्टीको बेला घुम्न, पिकनिक आउने पर्यटकपनि पानी जहाजमा घुम्न सक्छन् । पर्यटकको लागि १० सिटे ओपियम बोटमा करिब १० मिनेटको जलयात्राको मज्जा लिन सकिन्छ । पानीको छालमा पर्यटक निकै रमाउने गरेको बोट चालक बताउँछन् । पर्यटकको लागि घुम्न १० सिटे ओपियम बोट र भोजपुरसम्मको यात्राको लागि जेटबोट सञ्चालनमा छ । जेट बोट चढ्ने यात्रीको सिजनमा खचाखच हुने गरेको बताउँछन् । बोट चढ्ने यात्रुलाई लाइफ ज्याकेट र अनिवार्य बीमा गरेको र बोटको पनि बीमा गरेकाले दुर्घटनाको सङ्कट नभएको बताउँछन् । १० सिटे जेट बोट राम्रोसँग चल्न कम्तीमा तीन फिट गहिरो पानी फराकिलो क्षेत्र हुनुपर्छ ।

अनौपचारिकरूपमा परीक्षण यात्रा गराएको बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सरकारले अरुण तथा तमोर नदीको पानीको क्षेत्र समथल बनाउन सहयोज गरे अन्य क्षेत्रमा पनि जल यातायात लान सकिने बताउँछन् । सानो ओपियम बोट खरिद गर्न पनि ३० देखि ३५ लाख लाग्ने गरेको छ भने ठूलो बोटको एक देखि डेढ करोड पर्छ । सरकारलाई कर पनि तिरेको तर लगानी गरेअनुसार सरकारी तवरबाट सहयोग नहुँदा व्यवसायी दुःखी पनि छन् ।
इटहरीबाट ४५ मिनेटमा पुगिने चतराबाट १५ किलोमिटर हाराहारीको सिम्ले पुग्न १५ मिनेट लाग्छ भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ ।

सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा ७ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर दुईघण्टामा यात्रा हुने गरेकोले नियमित यात्रा गर्नेहरुलाई सहज भए पनि बर्खायाममा बोट नचल्दा हैरानी पनि हुने गरेको छ । पानी जहाजमा चढ्न भनेर आएका पर्यटक घुमेर आएपछि भिन्नै रमाइलो महसुस गरेको बताउँछन् ।
केहीवर्ष अगाडिसम्म सुनसान रहने चतराघाट आजकाल पर्यटकले व्यस्त हुने गरेको छ । शनिबार र सार्वजनिक बिदाको दिनमा कोशीपुल घुम्न आउने, पिकनिक मनाउनेहरुको भीड हुने गरेको छ ।
आन्तरिक र वाह्य दुवै पर्यटको रोजाइमा पर्न थालेको चतरा ‘टुरिस्ट हब’ का रुपमा विकास भइरहेको छ । कोशीमा जहाज चल्नु यस क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि कोशेढुंगा सावित हुने छ । जहाज चलेपछि बराह भगवानको दर्शन गर्न आउने तीर्थालुलाई थप सजिलो भएको छ । प्रदेश नम्बर १ को पर्यटन व्यावसायमात्रा होइन पानी जहाजलाई राष्ट्रिय गौरवको रुपमा अगाडि बढाउन तीनै तह सरकारले बिशेष ध्यान पुरयाउन आवश्यक देखिन्छ ।

प्रकाशित मिति: पुष ७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend