धरानः ओखलढुङ्गा जिल्लाको नाङ्लेभूतमा पर्यटक तान्न गायन प्रतियोगिता आयोजना भएको छ ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ पङ्खु भन्ने पर्यटकीयस्थलमा सो कार्यक्रम आयोजना भएको हो ।
खुल्ला एकल गायन प्रतियोगिता तथा युगल प्रतियोगिता २०७८ नाम दिइएको प्रतियोगितामा स्थानीय याङ्की राई प्रथम बन्दै ५ हजार नगद, प्रमाणपत्र पाइन् । यस्तै, शेखर राई दोस्रो बन्दै २५ सय नगद र प्रमाणपत्र पाए भने मनिका राईले र सुशन राईले क्रमशः १५ सय, १ हजार र प्रमाणपत्र पाएका छन् ।
यस्तै, प्रथम बनेकी याङ्कीले पूर्वाञ्चल बागिना कला केन्द्र धरानले धरानमा आयोजना गर्दै आएको प्रतियोगिता ‘पूर्वाञ्चल सिङ्गीङ स्टार सिजन ९’ मा सिधैं टप २० मा प्रवेश गराइएको छ । सिजन ९ वैशाखबाट शुरु गर्ने जनाइएको छ ।
कार्यक्रमको निर्णायकमा पूर्वाञ्चल बागिना कला केन्द्र धरान, सुनसरीका अध्यक्ष एवम् पूर्वाञ्चल सिङ्गीङ स्टार र मिस प्रदेश नं. १ का संयोजक एवम् गायक भक्तिराज राई रहेका थिए ।
कलङ्की भूत अर्थात् नाङ्ले भूतले पर्यटक तानोस् र पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले तातोपानी रकुवा बजारको आयोजनामा यस्तो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष दिनेश राईले जानकारी दिए । रक्तकाली सेतीदेवी गुठी मन्दिरका अध्यक्ष महेन्द्र राईका अनुसार झन्डै ५० वर्षअघि राई पुर्खाहरुले गाउँको शक्तिशाली धामी राखेको र उनले यहाँ बजार लगाउनुपर्ने अनि मात्रै अनिष्ठ नहुने भनेपछि नाङ्ले भूतमा बजार लगाइएको जानकारी दिए । त्यहाँ ९ वटा नागको समूह छ, सिद्धदेवता संसारीको सामूहिकस्थल छ । त्यहाँ सेतो पाठीले भोग दिने चलन छ । सँगै रहेको शिव पार्वती मन्दिरमा भक्तजनलाई मनोरञ्जन पनि होस् र लुकेर रहेको प्रतिभा बाहिर ल्याउन प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेर पर्यटक भित्र्याउने लक्ष्य राखिएको सचिव रेकन राईले जानकारी दिए ।
‘यो पर्यटकीयस्थल बनाउन हामी हरतरहले लागिपरेका छौं’, उनले भने, ‘यसलाई आकर्षकस्थल बनाएर पर्यटक तान्ने कोसिसमा छौं, मन्दिरसम्म पुग्न सिँढी बनाएर मन्दिरलाई अझै झकिझकाउ बनाइनेछ ।’
यस प्राकृतिकस्थलको विशेषतामध्ये तातोपानी, बेलाबेलामा बिच्छी, गङ्गटा देखापर्ने, केही हिराहरु पनि देखापर्ने तर देखा परेको हिरा हराउने चमत्कारिक विशेषता रहेको रक्तकाली सेतीदेवी गुठीका अध्यक्ष महेन्द्र राई बताउँछन् ।
कार्यक्रममा धरानबाट त्यहाँ पुगेका गायक भक्तिराज राईले आगामी वर्षमा कार्यक्रम थप प्रभावकारी र पर्यटकीय सो ठाउँको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने बचन दिएर फर्किएका थिए ।