Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सोलुखोला जलविद्युत् आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

हाम्रो कोशी आवाज
पुष १३ २०७८, मंगलबार
सोलुखोला जलविद्युत् आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

सोलुखुम्बुः सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति आज गठन गरेको हो । समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।
सरकारले निधन भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । दुर्घटनामा थप एक कर्मचारी घाइते भएका छन् । साहस ऊर्जाले प्रवद्र्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।
पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो । प्रवद्र्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो । आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा दुर्घटनाले प्रश्न खडा गरेको छ ।
ऊर्जामन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएकी थिइन् । मन्त्री भुसालले उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गरेकी छन्। साहस ऊर्जाका प्रमुख हिमप्रसाद पाठकले दुर्घटनाको बारेमा आन्तरिकरुपमा नै छानबिन भइरहेको र घाइतेको उपचार भइरहेको जानकारी दिए । रासस

प्रकाशित मिति: पुष १३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend