धरानः सुनसरीमा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
सुनसरीको लौकही (कोशी–१) बाट दुई नाल अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा अररिया जिल्ला वासमतिया–६ बस्ने वर्ष ३५ को विद्यानन्द राम र सोही स्थान–२ बस्ने वर्ष ३१ को हसिम अन्सारी छन् । उनीहरुबाट २ नाल पेस्तोलको साथमा ४ वटा म्यागजिन र ३ राउन्ड गोली समेत बरामद गरिएको उनले जानकारी दिए । सोमबार बेलुका साढे ४ बजे बिएस होटलबाट नियन्त्रणमा लिएको हो। होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा ओछ्यानमा लुकाई राखेको पेस्तोल दुई थान, म्याग्जिन चार थान, गोली ३ राउण्ड बरामद गरिएको हो।
बिआर–५०–के१४९ जी प्लसको मोटरसाइकलमा दुईजना हतियार कारोबारी भारतीय नागरिक हतियारसहित नेपाल आउँदैछन् भन्ने सूचना पाएको सुनसरी प्रहरीको टोलीले उनीलाई पछ्याइरहेको र लौकही बजारबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरु पेस्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको एसपी थापाले बताए ।
पक्राउ प्रतिवादीहरुलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत सुनसरीवाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु पूर्वीटोला नाका हुँदै नेपाल छिरेका थिए ।
यसैबीच चालु आर्थिक वर्षमा सुनसरी प्रहरीले अदालतबाट फैसला भइसकेका विभिन्न मुद्दाहरुमा फरार रही वेरुजु कायम रहेका ५८८ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनमा आफ्नो भूमिका प्रस्तुत गरेको छ । यसको मुख्य ध्येय भनेको अपराध गरेर जति नै भागे पनि कानुनको दृष्टिबाट लुक्न सकिदैन भनि सन्देश दिनु पनि हो । ५६७ जनालाई पक्राउ गरी अदालत पेस गर्दा १२० वर्ष ६ महिना ५ दिन कैद र रु.२८ लाख २८ हजार ३०९ जरिवाना वेरुजु फच्छयौट भएको प्रहरीले जनाएको छ ।
