धरानः अहिले धरानदेखि बाङ्गे नहडापुग्ने सडक कालोपत्रे गर्नेबारे चर्चा चुलिएको छ । चर्चा मात्रै हुने हो कि सडक कालोपत्रे समेत भइहाल्ने हो त्यो हेर्न भने बाँकी छ ।
यो सडक कालोपत्रे गर्न स्थानीयबासीले आवाज उठाएको धेरै समय भएको छ । यस क्षेत्रका नेताहरुले जितेर गएर त यो सडक कालोपत्र बनाउनेबारे कहिल्यै सोंचेनन् । अहिले यो सडक कालोपत्र भइहाल्नेबारे चर्चा शुरु भएको छ ।
केहीदिनअघि चक्रघट्टी आइपुगेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रीय बजेट पारेर भएपनि कालोपत्र गर्ने आश्वासन दिएर फर्किए । ‘बाङ्गे–धरान सडकको कालोपत्र प्रदेश सरकारले गर्न सक्छ, कालोपत्रे नगरे आर्थिक वर्षमा केन्द्रीय बजेट पारेर भएपनि कालोपत्र गरिन्छ ।’ उनले भने । उनको यो भनाइलाई स्थानीयबासीले आशा र भरोसाको केन्द्र बनाएका छन् ।
सुनसरी निर्वाचन प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का सांसद समेत रहेका कार्कीले प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीलाई सो सडक बनाउन आग्रह गरेका थिए । बराहक्षेत्र नगर प्रमुख निलम खनालले बाङ्गे–धरान सडक जीर्ण हुँदा अहिले सबैले सास्ती खेप्नुपरेको गुनासो पोखे । ‘वर्षौ भयो, त्यहाँको सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन’, उनले भने, ‘त्यो सडक कालोपत्र गर्नका लागि ध्यानाकर्षण गराउँदछु ।’
मन्त्री कार्कीले चक्रघट्टीस्थित सप्तकोसी बहुमुखी क्याम्पसमा रहेको सरकारी जग्गामा ५० शैथ्याको अस्पताल निर्माण गर्ने समेत घोषणा गरे । अस्पतालको लागि ३० कठ्ठा जग्गा आवश्यक पर्ने भएकाले क्याम्पस निर्माण भएको २ बिगाहा ४ कठ्ठा रहेको र सो जग्गा उपलब्ध हुन साथ सम्झौता गरेर २ वर्षभित्र अस्पतालको भवनको काम सम्पन्न गर्न लागिपरेको कार्कीले बताए ।
धरान–चतराको बगुवामा पुल पनि बनिहाल्ने
यता विशेषतः वर्षायाममा यात्रुले सास्ती खेप्दै आएको बागखोला र बगुवामा पुल बन्ने भएको छ । त्यहाँ पुल नहुँदा वर्षाको भेलमा हैरानी व्यहोर्दै यात्रुले आवतजागत गर्दै आएका थिए । धरान–चतरा सडक खण्डमा पर्ने बगुवा र बाघखोलामा पुल बन्ने भएको हो । मदन भण्डारी राजमार्गअन्तर्गतको सो सडकमा पुल बनाउनका लागि सर्भेको काम पनि भएको छ ।
मदन भण्डारी राजमार्गका इञ्जिनियर सुमन खतिवडाले आव ०७८–०७९ वैशाखपछि सडक तथा पुलको ठेक्का लाग्ने र ठेक्कापछि पुलको काम दुई वर्षभित्र सकिने जानकारी दिए । ‘हाल सर्वेको काम भएको छ’, उनले भने, ‘वैशाखपछि ठेक्का लाग्छ, त्यसपछि दुई वर्षभित्रमा काम सकिनेछ ।’
पुल ६० देखि ७० मिटर लम्बाइ, ९ मिटर चौडाइ, १–१ मिटर दुवैतर्फ मान्छे आवतजावत गर्ने पेटी रहने जनाइएको छ । पुलको कुल लागत १० करोड रुपैयाँ रहने उनले जानकारी दिए । उनका अनुसार चतरादेखि धरानको सेउती खोलासम्म दुई लेनको ९ मिटरको पिच बन्ने जनाइएको छ ।