धरानः सुनसरीको इटहरी उपमहानगरपालिका–२० बाट ७२ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–१ का २४ वर्षीय विक्रम राई र ३३ वर्षीय सञ्जीव राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
कोशी राजमार्गको तरहरा चोकमा प्रदेश १–०२–०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा प्रहरी चौकी तरहराको टोलीले उनीहरूलाई आइतबार राति साढे १२ बजे नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेका दुईजनाले झोला फाली भागेका थिए । भागेका उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । बरामद गाँजासहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय इटहरीबाट राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।