धरानः प्रधानमन्त्री शेरबहादुर देउवा भोलि धरान आउने भएका छन् ।
उनी मङ्गलबार बिहान १० बजे धरान आइपुग्ने मेयर तिलक राईले जानकारी दिए । प्रधानमन्त्री देउवा हेलिकप्टर मार्फत् धरान आउने भएका हुन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान–२ स्थित रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ । त्यसपछि धरान–६ पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम छ ।
बसपार्क अवलोकनपश्चात् प्रधानमन्त्री देउवाले धरान–१२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान–१२ स्थित पब्लिक हाइस्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मेयर सचिवालयले जनाएको छ । यसैगरी धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले भोलि सार्वजनिक विदा दिएको छ । गत पुस १४ गते बसेको कार्यपालिका बैठकले पुस २० गते धरान डे को अवसरमा धरान क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । धरानमा पुस २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ ।
