विराटनगरः १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालित प्राविधिक प्रहरी जवान दोस्रो समूहको आधारभूत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दीक्षित भएका छन् ।
बिहीबार तालिम केन्द्रको खेल मैदानमा एक कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
२०७८ भाद्र २७ गते देखि सञ्चालित प्राविधिक प्रहरी जवान दोस्रो समूहको ९० कार्य दिनको आधारभूत तालिम पौष २२ गतेसम्म सञ्चालन भएको थियो । दीक्षान्त समारोहमा तालिम केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ९० कार्य दिनको तालिम अवधिमा प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, विद्यमान कानुन र सूचना प्रविधिलगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी दिइन् ।
दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम सपथ ग्रहण गराएकी थिइन् ।
तालिमका प्रशिक्षार्थीहरु मध्ये सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी जवानलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए ।