धरानमा आयोजित पत्रकार सम्मेलनमा पीडित । इन्सेटमा टिकाप्रसाद विश्वकर्मा । तस्वीरः तिर्थ कार्की
धरानः आफूमा दैवी शक्ति भएको र आफू महामानव समेत भएको भन्दै एक व्यक्तिले ठगी गरेको भन्दै धरानमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
आफू महामानव र ईश्वरको रुपलगायत उपमा दिएर टिकाप्रसाद विश्वकर्मा र उनको ज्योतिष शिव सेवा केन्द्रले ठगेको भन्दै धरानका केही सर्वसाधारणले पत्रकार सम्मेलन गरेका हुन् ।
सुनसरीको बराहक्षेत्र–६ जब्दी जलपाइचोकस्थित केन्द्रले ठगी गरेको भन्दै यतिबेला उनका अनुयायीहरु नै पत्रकार सम्मेलनमा उत्रिएका हुन् । उनीहरुले ती महामानव बताउने विश्वकर्माबाट ठगिएको आरोप समेत लगाएका छन् ।
धरान–८ बस्ने वर्ष ५४ को सीताराम मल्ल, धरान–१५ बस्ने वर्ष ५१ की मथुरा थापा, धरान–१० बस्ने वर्ष ६० को पटेल सिंह, धरान–१० नै बस्दै आएकी वर्ष ५२ की सरिता कौर, धरान–१६ बस्ने शान्ति लामिछाने, धरान–१६ कै वर्ष ३५ की सविना गदालले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेका हुन् ।
आफूहरुलाई भक्त बनाउने, विभिन्न देवी देवता उतारि दिने, देवी देवताहरुसँग भेट गराउनेलगायत बहानामा ठगी गरिरहेको कारण आफूहरु पत्रकार सम्मेलन गर्न बाध्य भएको यसअघि भक्तसमेत रहेका सीतारामले जानकारी दिए ।
बिहीबार धरानमा पत्रकार सम्मेलनमा उनले भने, ‘पहिला त म आफैं रनभुल्लमा थिएँ तर उनको र संस्थाको गतिविधिप्रति शंका लाग्दै गयो, पछि बुझ्दै जाँदा उनीहरु त वास्तविकरुपमा सर्वसाधारण ठगिरहेको बुझें, त्यसपछि ठगीबारे प्रहरी र सुनसरीको जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दियौं तर सुनुवाई नभएपछि पत्रकार सम्मेलन गर्न बाध्य भयौं ।’
उनीहरुले विश्कर्माबाट लाखौं ठगिएको समेत आरोप लगाएका छन् । पटक–पटक गरी मथुराबाट २० लाख रुपैयाँ, सीतारामबाट १५ लाख, शान्तिबाट १० लाख, पटेलबाट ५ लाख, सरिताबाट ५ लाख, सविनाबाट २ लाख रुपैयाँ ठगिएको समेत उजुरीमा उल्लेख गरेका छन् । उनीहरुले पटक–पटक गरेर यतिका रकम बुझाइसकेको बताएका छन् ।
विश्वकर्माले उनीहरुलाई आफू सृष्टिकर्ता भएको बताउँदै ठग्दै आएको सीतारामको भनाइ छ । ‘पहिला हामी उनकै भक्त हौं तर उनले आफूहरुलाई दिने दण्ड, सजायस्वरुपलगायत गरेर पटक पटक पैसा असुल्न थालेपछि विश्वास गर्न छाडेका हौं’, उनी थप्छन्, ‘पछि बुझ्दै जाँदा आफन्त प्रयोग गर्दै पैसा असुल्ने कार्यमात्रै हो भन्ने हाम्रो ठम्याइ छ ।’
आफ्ना नयाँ भक्त बनेकाहरुलाई कोशी नदीमा लगेर देवलोकबाट आएको विभिन्न भगवानहरुसँग भेट गराइदिने भन्दै लैजाने र त्यहाँ पुगेपछि विश्वकर्माका आफन्त नै विभिन्न देवी, दानवको रुप धारण गरेर देखा पर्ने गरेको थाहा पाएपछि आफूहरु हच्चिएको उनी बताउँछन् ।
पीडित सविनाले अनेक भ्रममा पारेर उठाएको पैसा सामाजिक काममा नभई परिवारलाई घर, जग्गा खरिद गरेको बताइन् । उनले चल, अचल सम्पत्तिबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि स्थानीयस्तरमै मिल्नुभन्ने जवाफ आएपछि पत्रकार सम्मेलन गर्न आइपुगेको बताइन् ।
अर्की पीडित मथुराले संस्थामा आवद्ध हुँदा अलौकिक शक्ति प्राप्त हुने भन्दै अन्यलाई पनि ठगी गर्ने गरेको बताइन् । अहिले आफू र अन्य भक्तजनहरुले विरोध गर्न थालेपछि मार्ने धम्कीसमेत आएको उनी बताउँछिन् ।
यस विषयमा सम्पर्क गर्न गर्दा विश्वकर्माले फोन उठाएनन् । केन्द्रका सचिव भुपेन्द्र खतिवडाले सीतारामकै नेतृत्वमा धरान हेर्ने जिम्मा दिइएको बताए । ‘पहिला उनी खुशी थिए, उनलाई ईश्वरको रुपमा पुज्दै आएका थियौं तर उहाँ संस्थाप्रति लाग्नुभएको छ, असन्तुष्टि पोख्दै हिँडिरहनुभएको छ, छलफलमा बसौं भनेका छौं तर उहाँ आउनुभएको छैन ।’ उनले भने ।
डाक्टर, पाइलट, इन्जिनियर आदि पनि संस्थामा लागिरहेको, संस्थामा नियमभित्र बस्ने १ सय ४३ रहेको र अन्य भक्तजन १ हजार बढी रहेको उनले जानकारी दिए । ‘खासमा विश्वकर्मामा दैवी शक्ति छ नै’, उनले भने, ‘उहाँलाई हामी पिता भनेर सम्बोधन गरिरहेका छौं ।’