संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिका–१ बसपार्कस्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको अवैध औषधि तथा क्लिप प्रहरीले बरामद गरेको छ ।
बस पार्कस्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधि पिबिओजी ४ कार्टुन (११६ प्याकेट), केएचटुपिओ १५ प्याकेट, सिलिलोङ २० बोतल र वाटरपम्प लेखिएको मेसिन १ थानसहित फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ती टोलीले बसपार्कस्थित सडक किनारबाट अवैध औषधि तथा क्लिप अन्दाजी मूल्य ३ लाख ६३ हजार २ सय ५० रुपैयाँ बराबरको बरामद गरेको हो ।
बरामद गरिएका अवैध समानहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।