धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा कक्षा–११ मा अध्ययनरत् विद्यार्थीहरुलाई शनिबार कृषिक्षेत्रको अवलोकन भ्रमण गराइएको छ ।
विद्यार्थीहरुलाई धरान–५ ठिङ्गाबारीमा रहेको राम लिम्बू र सीता खापुङले सञ्चालन गरेको न्यू होप कृषि फर्मलगायत विभिन्न तरकारीजन्य र खाद्यबालीको अवलोकन गराइएको थियो ।
फर्म सञ्चालक लिम्बूले एक वर्षअघि कोभिड–१९ ले विश्व मानव जगतलाई नै त्रसित र निरास बनाएको बेला नयाँ आशाका साथ आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफूले न्यु होप कृषि फर्म खोलेर तरकारी, खाद्यबाली, बङ्गुरपालन सुरु गरेको विद्यार्थीहरुलाई जानकारी गराएका थिए । लिम्बूले भने, ‘मैले जे गर्दैछु यसबाट नयाँ युवापुस्ता पनि कृषि पेशाप्रति आकर्षित होउन् ।’
कक्षा–११ कि छात्रा सुदा साम्वाहाम्फेले अचार खान भनेर हौसिदै मूला उखेल्दा उनकी साथि प्रिया खापुङले खिचिक्क फोटो खिचिन् । सञ्चिता राईले हरियो साग टिप्दै भनिन्, ‘आहा क्या राम्रो साग ।’
कक्षा–११ कै छात्र रोदन राई भने घरी धनिया टिप्थे भने घरी टमाटर टिप्थे । शिक्षिका उमा लिम्बू भने आफ्नै बारीमा भएको साग जस्तै लाग्यो भन्दै साग टिपिरहेको देखिन्थिन् ।
अर्का छात्र मनिष पोद्दारले कृषि क्षेत्रको भ्रमण गर्न पाउँदा धेरै खुशी लागेको बताए । सहरमा प्राय सबैले बजारबाट तरकारी र खाद्यान्न किनेर खाने गरेको तर अवलोकन भ्रमणका क्रममा विद्यार्थीहरुले आफैले साग, टमाटर, मूला, धनिया टिपेर अवलोकन पश्चात् खाना बनाएर खाएको हुँदा विद्यार्थीहरुले व्यवहारिक रुपमा ज्ञान हासिल गरेको प्रिन्सिपल मिलन राईले जानकारी दिए ।
उनले भने, ‘हाम्रो देस कृषि प्रधान देश हो त्यसैले देश–विदेसका टाढा र महङ्गा ठाउमा भन्दा नजिकै रहेको कृषि क्षेत्रको अवलोकन गराएर विद्यार्थीलाई ब्यवहारिक ज्ञान दिएका हौं ।’
प्रिन्सिपल राईका अनुसार भ्रमण गरिसकेपछि भ्रमणमा सहभागी सबै विद्यार्थीहरुलाई प्रतिवेदन लेख्न लगाई प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई माघ–८ गते कक्षा–११ का लागि गरिने स्वागत कार्यक्रममा पुरस्कृत गरिनेछ ।
शुक्रबार कक्षा–११ मा अध्ययनरत विद्यार्थीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक तथा नेपाल पत्रकार सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोहीले प्रतिवेदन लेखनसम्बन्धी अभिमुखिकरण गरेका थिए । प्लस टु कोअर्डिनेटर टप कुमार राईले कृषि क्षेत्रको अवलोकन गराएपछि विद्यार्थीहरुले कुन कुन तरकारी र बाली कसरी लगाइन्छ भन्नेबारे सिकेको हुनाले अवलोकन भ्रमण उपलब्धिमूलक भएको जानकारी दिए ।
एकेडेमिका निर्देशक प्रदीप राईले कृषिजन्य क्षेत्रको भ्रमणले भविष्यमा कृषि पेशाप्रति लाग्न चाहने विद्यार्थीका लागि प्रेरणादायी हुने बताए । अवलोकन भ्रमणमा नेपाल पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठ, महासङ्घका पूर्व उपाध्यक्ष पत्रकार सन्तोष काफ्ले र शिक्षक आनन सुब्बा समेत सहभागी थिए । विद्यार्थीहरुले नाचगान गरेर रमाइलो पनि गरे । तस्वीरहरुः तिर्थ कार्की







