धरानः धरान उपमहानगरपालिकाले किसानलाई खेतबारी जोत्ने पावर ट्रिलर हस्तान्तरण गरेको छ ।
मङ्गलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० का मचिन्द्र कृषि तथा पशुपंछी फर्म, वडा नं. ४ का दाजुभाइ फर्म, वडा नं. ५ का निशानदेवी कृषि समूह र वडा नं. ५ कै ठिंगाबारी कृषि समूहलाई ४ थान पावर ट्रिलर हस्तान्तरण गरे ।
उपमहानगरपालिकाका कृषि शाखाका अधिकृत भक्तिराज शर्माका अनुसार उपमहानगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत साझेदारीमा खरिद गरेर कृषकहरुलाई वितरण गरिएको हो । मेयर राईले धरान उपमहानगरपालिका साविक विष्णृुपादुका गाविस र पाँचकन्या गाविस मिलेपछि उपमहानगरपालिका बनेको जनाउँदै साविक दुई वटै गाविस कृषिसँग आधारित रहेको बतए ।
वडा नं. ४, ५, ६ र २० का कृषकहरुलाई विगतदेखि नै कृषिका सामग्रीहरु उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको मेयर राईको भनाइ थियो । साथै, मेयर राईले उत्पादन र पालनपोषणमा पनि उपमहानगरपालिकाले सहयोग गरिरहेको जनाए । स्थानीय तहले प्रदान गरेको मेशिनरी औजार, मल, बिउहरुको अधिकतम रुपमा सदुपयोग गरेर उत्पादन गर्न पनि मेयर राईले सुझाव दिए । मेयर राईले अनुदान लाने कृषकले आफ्नो वरपरका छरछिमेकलाई सहयोग गर्नुका साथै प्राविधिक ज्ञान हस्तान्तरण गर्न पनि आग्रह गरे ।