सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
साmे स्थानबाट लागूऔषध ट्याब्लेटको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले महिलालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले जानकारी दिए ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१ का ४८ वर्षीय डोमा मण्डल रहेकी छिन् । मण्डलको साथबाट प्रहरीले कोरेक्स ५० बोतल तथा नाइट्रोसन ६०० ट्याब्लेट बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, मोरङको रतुवामाई नगरपालिका–३ महादेवाबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । सो स्थानबाट लागूऔषध ब्राउनसगुरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका–५ की ३५ वर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्ससहित पक्राउ गरेको हो ।