विराटनगरः मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधबार राति भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर एकजनाको मृत्यु छ । बुधबार साँझ ६ बजे उखु लोड गरी डोरीले बाँध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० वर्षीय कुमार उरावको घटनास्थलमै मृत्यु भएको हो । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, मोरङको उर्लाबारी नगरपालिका–७ मा बुधबार राति पौने ८ बजे भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१च ३६४४ नम्बरको भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको ना१३प ७६३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २१ वर्षीय पवन लिम्बूको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।