सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई थान पेस्तोल र ४ राउण्ड गोलीसहित चारजनाको समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा हातहतियार सहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका–७ घुस्कीका २० वर्षीय सबिर मियाँ, ३१ वर्षीय सवरेज मियाँ, सोही स्थानका २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका ६ का २३ वर्षीय फरियाद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
सबिर मियाँलाई बुधबार राति सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाँको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड र उनले प्रयोग गर्ने १ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यसैगरी मियाँकै बयानका आधारमा अन्य व्यक्तिहरु समेत हातहतियारसहित घुमफिर गरिरहेको भन्ने खुल्न आएसँगै तत्काल प्रहरी परिचालन भएकोमा थप तीनजनालाई हतियार सहित पक्राउ गरिएको हो । सवरेजसहित अन्य तीनजनालाई बिहीबार बिहान इनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तीन राउण्ड गोली, दुई थान म्यागजीन र उनीहरुले प्रयोग गरेको २ थान मोटरसाइकलसहित पक्राउ गरिएको उनले जानकारी दिए ।
हातहतियारसहित पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।