Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बिएचएम पढ्ने विद्यार्थीले चखाए ‘किराती परिकार’

हाम्रो कोशी आवाज
पुष ३० २०७८, शुक्रबार
धरानमा बिएचएम पढ्ने विद्यार्थीले चखाए ‘किराती परिकार’

धरानः धरान-१६ स्थित युएन कलेजका बिएचएममा अध्ययनरत् विद्यार्थीले ‘किराती परिकार’ बनाएका छन् । विभिन्न जातीय पोशाकमा सजिएर कलेज आइपुगेका विद्यार्थीले किराती परिकार पस्किँदा कलेजले बोलाएका पाहुनाहरुले ‘योचाहिँ सही परिकार बनाएको’ भन्दै खाए ।
किरातको नयाँ वर्ष यलम्बर सम्वत र माघे सङ्क्रान्तिको अवसरमा बिएचएम दोस्रो सेमेष्टरका विद्यार्थीले सो परिकार बनाएर उपस्थित सबैलाई चखाएको होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले जानकारी दिए ।
‘किरातको नयाँ वर्ष यलम्बर सम्वत र माघे सङ्क्रान्तिका अवसरमा नौलो परिकार चखाउने र विद्यार्थीले पनि यसबारेमा ज्ञान पाउने सोंचेर यस्तो ‘कन्सेप्ट’ ल्याइएको हो’, उनले थपे, ‘यसले किरात समुदायका विद्यार्थीले पहिला नै जानेबुझेको भएपनि अन्य समुदायका विद्यार्थीले पनि जान्ने, बुझ्ने अवसर पाएका छन्, यसले भविष्यमा समेत सघाउ पुग्छ भन्ने हामीले ठानेका छौं ।’
विशेषगरी पूर्वका किराती समुदायमा लोकप्रिय परिकार किनामा (लिम्बू समुदायले भन्ने गरेको किनिमा) करी, याङ्बेन, सादा पर्क फ्राइ, चाम्रे आदि परिकार बनाएर चखाएका हुन् ।
विद्यार्थीले सेर्गेम्बा पनि स्वाद चखाएका थिए । यो ‘टिपिकल’ किरात परिकार हो, जसको पारखीको जिब्रोमा झुन्डिरहेको हुन्छ । यो सुँगुरको आन्द्रामा किमा हालेर बनाइने परिकार हो ।
याङ्बेन एक किसिमको जङ्गली झ्याउ र बङ्गुरको मासुको सम्मिश्रणबाट बन्ने गरेको छ । चाम्रे नेपालीले रुचाइएको परिकार हो । यो भिजाएको चामललाई केही बेरतेल वा घिउमा भुटेर पानी हाली बाफले मात्र पकाइएको खाद्य हो । यसलाई झन्डै पुलाउसित दाँज्न सकिन्छ ।
बिएचएममा पार्ट अफ इभेन्ट म्यानेजमेण्टअन्तर्गत यो विषय पनि जरुरी रहेको क्यापस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनले यस्तो कार्यक्रमले विद्यार्थीलाई भविष्यमा सघाउने पुग्ने बताए । ‘विद्यार्थीले होटल खोले वा पाँचतारे होटलमा काम गर्दापनि चाडबाड (माघे सङ्क्रान्ति, दशैं, तिहार, इद, क्रिसमस आदि) बारे जान्न जरुरी छ, मानौं पर्यटकले माघे सङ्क्रान्ति वा अन्य चाड मनाउन इच्छा गरे उनीहरुले कसरी मनाउने भन्नेबारेको ज्ञान अहिलेदेखि नै सिक्नु जरुरी छ,’ उनले थपे, ‘यस्तो विषयको ज्ञान हुन जरुरी छ, जुन विद्यार्थीलाई भविष्यसम्म पनि काम दिन्छ ।’
पूर्व आउने पर्यटकलाई किराती परिकार खुवाउन सकिँदैन ?
होटल म्यानेजमेण्ट कोअर्डिनेटर श्रेष्ठले पूर्व आउने पर्यटकलाई किराती परिकार चखाउन लाग्नुपर्ने बताए । ‘मेरा कोही आफन्त वा पश्चिम बस्ने कोही मानिस धरान घुम्न आइपुगे तर कस्तो परिकारको खाना खुवाउने भन्नेबारेमा अहिलेसम्म पूर्वेलीमाझ ‘कन्सेप्ट’ आइसकेको छैन’, उनले भने, ‘अबदेखि धरान वा पूर्वाञ्चलको भ्रमणमा कोही आए, थकाली खाना वा अन्य खानामात्रै खुवाउने होइन, किराती परिकार चखाउनतिर लाग्न सक्नुपर्छ, यसले पूर्वको सुन्दरता झल्किन्छ ।’
उनले किराती सेट जस्तैः चाम्रे, याङ्वेन, सेर्गेम्बा, किनामा, मासुका परिकार, सागसब्जीका आइटमहरु मिलाएर थकाली सेटजस्तै खाना तयार हुनुपर्ने सुझाए । ‘अनि सबैले भनोस् पूर्वमा पुगेपछि खान पाइयो किराती खाना सेट,’ उनले थपे ।
यस्तै, अर्को मौलिक परिकार वाचिपालाई पनि व्यावसायीकरण गर्न पनि लाग्नुपर्ने उनको जोड छ । ‘किराँत संस्कृतिमा कुखुराको मासुमा भात, डढाएको कुखुराको प्वाँख र मरमसला मिलाएर बनाइएको वाचिपा पनि धेरैले मन पराउँछन् तर व्यवसायिक हुन सकिरहेको छैन’, उनले भने, ‘यसतर्फ पनि ध्यान जान जरुरी भइसकेको छ ।’ उनले पूर्वमा रहेका पर्यटकीय होटलहरुले पनि आफ्नो होटलको मेनुमा किराती परिकार अटाउनुपर्ने उनको जोड छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: पुष ३० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend